दमक/ दमकस्थित सानो प्रयास युवा समाजले अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर दमक–२ मासञ्चालित मानव उद्धार सेवा आश्रमलाई खाद्यान्न तथा दैनिक उपभोग्य सामग्री हस्तान्तरण गरेको छ ।
समाज सेवाको क्षेत्रमा निरन्तर सक्रिय रहेको संस्थाले आश्रयविहीन तथा सहयोगापेक्षी व्यक्तिहरूलाई आश्रय दिइरहेको आश्रममा ५० हजार रुपैयाँ बराबरको खाद्य सामग्री तथा अन्य आवश्यक सामग्री प्रदान गरेको समाजका अध्यक्ष छबि खतिवडाले जानकारी दिए ।संविधान सभा सदस्य तथा संस्थाका सल्लाहकार समिति संयोजक दिपक कार्र्कीको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रममा दमक–२ का वडा अध्यक्ष प्रजापति सापकोटाको विशेष आतिथ्य रहेको थियो ।
सो अवसरमा २५ केजीका दरले १९ बोरा चामल, भुजा, दुई बेरा सोयाबिन, १५ केजी दाल, दन्तमञ्जन, खाने तेल, ब्रस, २० ओटा थाल, ३० ओटा गिलास तथा ३५ थान मच्छरदानी आश्रमलाई प्रदान गरिएको संस्थाका अध्यक्ष खतिवडाले जानकारी दिए ।
सामाजिक कार्य गर्दै आएको सानो प्रयास युवा समाजले यस अघि पनि विभिन्न विद्यालयहरूमा शैक्षिक सामग्री वितरण, कोभिड महामारीको समयमा खाद्यान्न वितरण तथा हालै मात्र एम्बुलेन्स सेवा समेत शुरु गरेको छ ।
सो अवसरमा प्रमुख अतिथी कार्कीले समाजसेवा केवल राज्यको जिम्मेवारीमा मात्र सीमित नरहने उल्लेख गर्दै हरेक नागरिकले आफ्नो ठाउँबाट सक्दो योगदान दिनुपर्ने आवश्यकता औंल्याए ।
संस्थाको यो अभियानमा डाक्टर मनोज शाह, ब्रोडवे क्याफे, विकास शाह, सुरज श्रेष्ठ लगायतले सहयोग गरेका थिए ।