दमक/ ११५ औं अन्तर्राष्ट्रिय महिला दिवस, २०८१ को अवसरमा कोशी प्रदेश अन्तर्गत रहेका बिभिन्न प्रहरी कार्यालयहरुमा कार्यरत ९९ जना महिला प्रहरी कर्मचारीहरुलाई पुरस्कृत गरिएको छ ।
नेपाल प्रहरीमा कार्यरत महिला प्रहरी कर्मचारीहरुको मनोवल तथा उत्प्रेरणा अभिबृद्धि गर्ने एवम कार्य सम्पादनलाई पुरस्कार प्रणालीमा आवद्ध गर्ने अभियान अन्तर्गत उनीहरुलाई पुरस्कृत गरिएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
कार्यालय तथा कोशी प्रदेश अन्तर्गत रहेका प्रहरी कार्यालयहरुमा कार्यरत महिला बालबालिका तथा जेष्ठ नगरिक सेवा केन्द्र, अपराध अनुसन्धान, प्रहरी कार्य, प्रशासन लगायत बिभिन्न शाखामा रहेर बिभागीय नीति निर्देशनको पालना गरी आफ्नो पदिय दायित्वलाई उत्कृष्ट तवरले निर्वाह गर्ने महिला प्रहरी निरीक्षक ए जना, प्रहरी सहायक निरीक्षक ३ जना, प्रहरी वरिष्ठ हवल्दार २ जना, प्रहरी हवल्दार १५ जना, प्रहरी सहायक हवल्दार २० जना, प्रहरी जवान ५७ जना र प्रहरी कार्यालय सहयोगी एक जना सहित जम्मा ९९ जना महिला प्रहरी कर्मचारीहरुलाई पुरस्कृत गरिएको हो ।
अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा पुरस्कृत हुने महिला प्रहरी कर्मचारीहरुलाई कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजन अधिकारीले न्यून संख्यामा प्रहरी संगठनमा कार्यरत रहेका महिला प्रहरी कर्मचारीको मनोवल सदैव उच्च राख्ने र कर्तव्य प्रति वफादार बनाई राख्न यस्ता किसिमका उत्प्रेरणा अभिबृद्धि योजनाले महत्वपूर्ण भुमिका निर्वाह गर्ने बताए ।
११५ औं अन्तर्राष्ट्रिय महिला दिवस यस बर्ष “सवै महिला तथा बालिकाको लागिः अधिकार, समानता र सशक्तीकरण” भन्ने नाराका साथ बिभिन्न कार्यक्रमको आयोजना गरि मनाईएको छ ।

Facebook Comments Box