दमक/ झापाको दमक नगरपालिका वडा नम्बर ५ ले युवाहरुलाई स्वरोजगार बनाउने उद्धेश्यले वारिस्ता तालिम प्रदान गरेको छ ।

वडाले चालू आर्थिक बर्ष २०८१/०८२ को स्वीकृत बजेट तथा कार्यक्रम अन्तर्गत ३० जना युवालाई कफी बनाउने सीप सम्बन्धिको वारिस्ता तालिम प्रदान गरेको वडा सचिव निधि ढुंगेलले जानकारी दिए ।
एक महिना अघि शुरु भएको सो तालिमको मंगलबार औपचारिक कार्यक्रमबीच समापन गरिएको छ ।

दमक नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराई प्रसाइँको प्रमुख आतिथ्य र वडाध्यक्ष इन्द्रबहादुर गुरुङको अध्यक्षतामा आयोजित तालिम समापन तथा सहभागीहरुलाई प्रमाण पत्र वितरण कार्यक्रममा वडा सदस्य खड्ग राईले स्वागत मन्तव्य राखेका थिए ।
वडाले मागमा आधारित व्यवसायिक सीपमुलक तालिमहरु सञ्चालनको क्रममा सो बिषयको तालिम छनोट गरेर तालिम प्रदान गरेको कार्यक्रममा जानकारी दिइयो । नगर उपप्रमुख भट्टराईले यस खाले सीपमुलक तालिमले युवाहरुलाई आत्मनिर्भरताको बाटोमा डोहोरयाउने विश्वास व्यक्त गरिन् । वडाध्यक्ष गुरुङले हरेक बर्ष फरक फरक किसिमका व्यवसायिक सीपमुलक तालिमहरु सञ्चालन गर्ने क्रममा यसपटक वारिस्ता तालिम सञ्चालन गरिएको बताए ।

कार्यक्रममा उपप्रमुख भट्टराई, वडाध्यक्ष गुरुङ, कार्यपालिका सदस्य समेत रहेकी वडास्थित जनप्रतिनिधि शोभा बेल्बाँसे, गोपालकृष्ण संग्रैला लगायतले पनि सहभागीहरुलाई प्रमाण पत्र प्रदान गरेका थिए ।
त्यस्तै सो वडाले अचार तथा आलू चिप्स बनाउने तालिम प्रदान गरिएको छ ।  १६ फागुनदेखि सञ्चालित सो तालिम २० फागुन सम्म सञ्चालन भएको थियो ।

प्रयोगात्मक विधिद्धारानै यो तालिम प्रदान गरिएका कारण यसबाट दक्ष गृहिणीहरुले तत्कालै व्यवसायिक रुपमा स्वस्थकर अचार बनाउने र आलू चिप्स बनाउने काम अघि बढाउने बताइएको छ ।  गृहिणीहरुलाई घरेलु उद्यममा प्रोत्साहन गर्न अचार बनाउने सम्बन्धिको व्यवसायिक सीप मुलक तालिम पनि प्रदान गरेको छ ।

Facebook Comments Box