तोपगाछी/ समाजमा अझै पनि मानसिक समस्याका बिरामीहरुका आफन्तहरु खुल्न चाहँदैनन् ।
गाउँ घरमा त झन मानसिक रोगको बिषयमा अलिकति पनि चर्चा भयो भने नराम्रो प्रतिक्रिया आउने गर्छ ।
झापाको ग्रामिण भेगमा रहेको कमल गाउँपालिका २ तोपगाछीस्थित कमल नगर अस्पतालले मानसिक रोगको उपचार र परामर्श सेवा दिने विशेषज्ञ डाक्टरहरुकै सेवा शुरु गरेपछि भने सर्वसाधारणमा स्वास्थ्य चेतना बढ्दै गएको तथ्य भेटिएको छ ।
दुई बर्ष अघिदेखि स्वास्थ्य बीमा कार्यक्रमसहित सेवा शुरु गरेको कमल नगर अस्पतालले सेवा विस्तारका क्रममा करिब ६ महिना अघि मात्रै मानसिक रोग विशेषज्ञ डाक्टरको सेवा ल्याएको छ । वरिष्ठ मानसिक रोग विशेषज्ञ डा. नवराज कोइरालाबाट सेवा प्रदान गरेर शुरु गरिएको यो बिषयको विशेषज्ञ सेवा लिँदै चिकित्सकहरुसँग खुलेर मानसिक रोगका बिरामीहरु लिएर उपचार गर्न गराउन आउने सर्वसाधारणहरुको संख्या बढ्दो छ ।
अस्पतालमा हरेक महिनाको तेस्रो बुधबार मानसिक रोग विशेषज्ञ डाक्टरको सेवा शुरु गरिएकोमा यस पटक आज बुधबार सेवा प्रदान गरिएको र एकैदिन २९ जनाले मानसिक रोग विशेषज्ञ डाक्टर कोइराला र उहाँको टिमबाट सेवा लिएका अस्पताल प्रमुख दिपक दाहालले जानकारी दिए । गत असोजदेखि शुरु भएको यो सेवा अघिल्लो महिना २७ जनाले लिएका थिए ।
स्थानीय बासिन्दा तथा छिमेकी पालिकाका बिरामीहरूले समेत यो अस्पतालबाट सेवा लिएको तथ्याङकले प्रष्ट पारेको प्रमुख दाहालको भनाई छ ।
अस्पताल सञ्चालन तथा व्यवस्थापन समिति अध्यक्ष समेत रहेका कमल गाउँपालिका अध्यक्ष हुकुमसिंह राई गाउँघरमै सञ्चालित सरकारी अस्पतालबाट विशेषज्ञ सेवा लिन पाउनु सर्वसाधारणका लागि खुशीको बिषय भएको बताउँछन् । बिरामीको संख्या धेरै हुनु आफैंमा खुशीको कुरा त होइन तर बिरामी भइसकेपछि उपचार सेवा सहज रुपमा गाउँ घरकै अस्पतालमा पाउनु अवश्य पनि खुशीको बिषय हुनुपर्छ – गाउँपालिका अध्यक्ष राईको बुझाई छ ।
विशेषज्ञ सेवाको सुरु भएसँगै मानसिक स्वास्थ्य सम्बन्धी समस्या भएका बिरामीहरूले टाढा जानु नपर्ने भएपछि सहज महसुस गरेका र स्थानीय स्तरमै विशेषज्ञ सेवा उपलब्ध गराउन सक्नु कमल नगर अस्पतालका ठूलो उपलब्धि भएको कमल २ का वडाध्यक्ष समेत रहेका अस्पताल सञ्चालन तथा व्यवस्थापन समिति सदस्य अशोक सुब्बा बताउँछन् ।
सुब्बाले पनि यो सेवाले कमलबासी तथा छिमेकी पालिकाका नागरिकहरूलाई ठूलो राहत मिलेको बताए । उनका अनुसार, मासिक रूपमा प्रदान गरिने यो सेवाको प्रचार–प्रसारसँगै यसप्रति विश्वास गरेर आउने र चेतना जगाउने काम भएकाले बिरामीहरूको चाप बढ्दै गएको छ ।
यस्तो पाइयो मानसिक समस्याको कारण
आज मानसिक स्वास्थ्य उपचार सेवा लिन आएका अधिकांश बिरामीहरूले मानसिक तनाव, चिन्ता, डिप्रेशन, अनिद्रा जस्ता समस्याहरू भएको बताएका थिए । उनीहरुले विशेषज्ञ डाक्टरसँग उपयुक्त परामर्श सेवासँगै आवश्यक औषधि उपचार समेत पाएका छन् । कतिपय बिरामीहरू पहिलो पटक नै विशेषज्ञसँग प्रत्यक्ष भेटेर आफ्ना समस्या राख्न पाउँदा खुशी देखिन्थे ।
सेवा विस्तारका योजना
कमल नगर अस्पतालले आगामी दिनमा मानसिक स्वास्थ्यका साथै अन्य विशेष सेवाहरू पनि थप गर्ने योजना बनाएको गाउँपालिका अध्यक्ष राई बताउँछन् ।
अस्पताल प्रशासनले उपचारको गुणस्तर र पहुँच दुवैलाई ध्यानमा राखेर सेवा विस्तार गर्ने तयारी गरिरहेको अस्पताल प्रमुख दाहालले जानकारी दिए ।