दमक/ नेपाली कांग्रेस निकटका पूर्व आप्रवासीहरुलाई संगठित गर्ने अभियान शुरु भएको छ । कांग्रेसले पूर्व आप्रवासी समन्वय विभागनै बनाएर विभिन्न मुलुकमा गएर नेपाल फर्किएका लोकतन्त्रमा आस्था र विश्वास राख्ने समर्थक , शुभेच्छुकहरुलाई समेट्ने अभियान चलाएको हो ।
सो विभागले यही फागुन २४ र २५ गते झापामा कोशी प्रदेशस्तरीय बृहत भेला तथा अन्तरक्रियात्मक कार्यक्रम गर्ने तय भएको छ ।
विभागले झापाको विर्तामोडस्थित जिल्ला पार्टी कार्यालयमा कांग्रेस नेता डा. शेखर कोइरालाको प्रमुख आतिथ्यमा आयोजना गर्ने सो कार्यक्रमको पूर्व तयारी धमाधम गरिरहेको विभागका कोशी प्रदेश संयोजक विज्ञान प्रसाइँले जानकारी दिए ।
पूर्व आप्रवासी तथा विदेशबाट फर्किएका कांग्रेससँग नजिक हुन चाहने सर्वसाधारणलाई एकीकृत र संगठित बनाउँदै स्वदेशमानै आत्मनिर्भर बन्न प्रेरित गर्ने उद्धेश्यसहित विभागले बैचारिक बहस समेत गर्ने गरि सो कार्यक्रम तय गरिएको प्रसाइँले बताए ।

विदेशदेखि स्वदेश सम्म बिषयक दुई दिने कार्यशालामा झापासहित कोशी प्रदेशका १४ वटै जिल्लाहरुबाट सयौंको संख्यामा सहभागी हुने  नेपाल तरुण दलका केन्द्रिय सदस्य समेत रहेका सो अभियानमा सक्रिय युवा नेता नेत्र पौडेलले जानकारी दिए ।
कार्यक्रमको तयारीसँगै नेपाली कांग्रेस झापाले जिल्लास्थित सबै निर्वाचन क्षेत्र, प्रदेश सभा निर्वाचन क्षेत्र र पालिका समितिहरुलाई लक्षित सहभागीहरुसहित उपस्थित हुन सर्कुलर जारी गरेको जनाइएको छ ।
सो कार्यक्रमको उदघाटनका लागि नेता डा. कोइराला २३ फागुनमानै झापा आउने कांग्रेस केन्द्रिय सदस्य सरिता प्रसाइँले बताइन् ।

दमकमा सोमबार पार्टी कार्यकर्ताहरुसँगको अनौपचारिक भेटघाटका क्रममा नेतृ प्रसाइँले झापामा रहेको पार्टी गतिबिधि, यहाँका समस्याहरुबारेमा पनि कार्यकर्ताहरुसँग कोइरालाले संवाद गर्ने उल्लेख गरिन् ।
कांग्रेस झापा क्षेत्र नम्बर ५ का सभापति ढुण्डीराज भण्डारीलाई स्वास्थ्य लाभको कामना गर्न आएकी नेतृ प्रसाइँसँग सभापति भण्डारी, प्रदेश सभा क्षेत्र सभापति रवि केसी, तरुण दल झापा क्षेत्र नम्बर ५ का सभापति गोकूल श्रेष्ठ, कांग्रेस पूर्व नगर सभापति रोशन बिष्ट, नेपाल महिला संघ क्षेत्रीय अध्यक्ष गोमा प्रसाइँ बुढाथोकी लगायतले कांग्रेसमा भातृ संघहरुको अधिवेशन स्ववियु निर्वाचन लगायतका बिषयमा अन्तरक्रिया गरेका थिए ।

Facebook Comments Box