दमक/ झापामा सहकारीहरुको छाता संगठन जिल्ला सहकारी संघ समस्यामा परेको छ । संघका अध्यक्ष गणेश ढकालले प्रतिनिधित्व गरेको प्रारम्भिक संस्था कमल २ तोपगाछीस्थित पूर्व नेपाल बहुउद्धेश्यीय सहकारीका कारण यो संघ सबैभन्दा बढी समस्यामा परेको हो ।
अध्यक्ष ढकालले आफ्नो हात जगन्नाथ भनेझै संघबाट आफ्नै संस्था (पूर्व नेपाल बहुउद्धेश्यीय) मा करोडौं ऋण लगेर समयमा साँवा ब्याज रकम नतिर्दा जिल्लाभरका सबै प्रकारका सहकारी संस्थाहरुको छाता संगठन जिल्ला सहकारी संघ समस्यामा परेको बताइएको छ ।
संघमा आवद्ध सदस्य संस्थाहरुले जम्मा गरेको बचत रकमनै संघले संघका सदस्य सहकारी संस्थाहरुमा लगानी गर्ने गर्छ ।
जिल्ला सहकारी संघ झापाको अध्यक्ष ढकाल समेत सञ्चालक रहेको पूर्व नेपाल बहुउद्धेश्यीयले नै सबैभन्दा धेरै ६ करोड रुपैयाँ ऋणको साँवा ब्याज रकम संघमा बुझाएको छैन ।
संघको कूल लगानी १५ करोड भन्दा बढी हो । त्यस मध्येको ४० प्रतिशत अर्थात ६ करोड रुपैयाँ पूर्व नेपालले मात्रै ऋण लगेको छ ।
पूर्व नेपालसहित जिल्लाका विभिन्न १५ वटा सहकारी संस्थाले संघबाट लिएको ऋण नतिरेका बताइएको छ । जिल्ला सहकारी संघको २८ औ वार्षिक साधारण सभामा प्रस्तुत लेखा प्रतिवेदन अनुसार ती सहकारीहरुले लिएको ऋणको गत असार मसान्तसम्म भाखा नाघेको सावाँ १० करोड ५५ हजार ५३० रुपैयाँ पुगेको छ । पूर्व नेपाल सहकारी संस्थाले लगेको ६ करोड रकमको सावाँ र व्याज भुक्तानी नगरेको प्रतिवेदनमा उल्लेख छ ।
त्यस्तै जय नेपाल बचत तथा ऋण सहकारी संस्था बिर्तामोडले दुई करोड २७ लाख रुपैयाँको सावाँ र व्याज तिरेको छैन ।
त्यस्तै गरामनी कृषि सहकारी संस्था बिर्तामोडको दुई करोड, पहिलो पाइला बहुउद्देशीय सहकारी संस्था बिर्तामोडको ९० लाख, समाजसेवी बहुउद्देश्यीय सहकारी संस्था बिर्तामोडको ८० लाख, सतासी महिला मौरीपालन सहकारी संस्था शिवसताक्षीको ७५ लाख, संयुक्त कलाकर्मी बचत तथा ऋण सहकारी संस्थाको ६० लाख, पूर्वार्ध कृषि सहकारी संस्था अर्जुनधाराको ५० लाख, मयुर बचत तथा ऋण सहकारी संस्था बिर्तामोडको ३० लाख, श्री सहकारी संस्था राजगढको ३० लाख, देउराली बचत तथा ऋण सहकारी संस्था बिर्तामोडको ३० लाख, साइनो बचत तथा ऋण सहकारी संस्था शिवसताक्षीको २० लाख, सृजनशील बचत तथा ऋण सहकारी संस्था बिर्तामोडको १५ लाख, उत्कृष्ट कृषि सहकारी संस्था हल्दिवारीको १० लाख र जनएकता कृषि सहकारी संस्था कमलको १० लाख रुपैयाँको भाका नाघेको छ ।
सहकारीहरुले लगेको ऋण नतिरेपछि ६ वटा सहकारीमाथि संघले मुद्धा नै दायर गरेको छ । तर संघले मुद्धा दायर गरेका सहकारीको सूचीमा संघका अध्यक्ष ढकाल सञ्चालक रहेको पूर्व नेपाल बहुउद्धेश्यीय पर्दैन ।
तीमध्ये दुईवटाले ऋण तिरेका छन् भने चारवटाले तिरिसकेका छैनन् । पूर्वार्ध कृषि सहकारी संस्था अर्जुनधारा , जनएकता कृषि सहकारी संस्था कमल , साइनो बचत तथा ऋण सहकारी संस्था शिवसताक्षी र पहिलो पाइला बहुउद्देश्यीय सरकारी संस्था भद्रपुरमाथि संघले मुद्धा दायर गरेकोमा पूर्वार्ध , जनएकता र साइनोसंगको मुद्धामा संघको पक्षमा फैसला भएको बताइएको छ ।