दमक/ जिल्लाको कमल गाउँपालिका -२ क्याम्पास्थित कमल नगर अस्पतालले शुक्रबार ग्याल्पो ल्होसारको सार्बजनिक बिदाका दिनमा पनि नियमित खोप कार्यक्रमलाई निरन्तरता दिएको छ ।
राष्ट्रिय खोप अभियानलाई थप प्रभावकारी बनाउन विदाको दिनमा पनि आज नियमित खोप सञ्चालन गरिएको अस्पतालका कार्यालय प्रमुख दिपकप्रसाद दाहालले बताए । उनका अनुसार फागुन महिनाको खोप अभियान अन्तर्गत १५ गते भुत्लुङ्ग खोप केन्द्र र १६ गते कमल नगर अस्पताल खोप केन्द्रमा सञ्चालन गरिएको हो ।
अस्पतालले हरेक महिनाको १५ र १६ गते नियमित खोप सञ्चालन गर्दै आएको छ । यसपटकको नियमित खोप कार्यक्रममा स्वास्थ्यकर्मी अन्जना सापकोटा, महिला स्वास्थ्य स्वयंसेविका उषा दाहाल लगायतको टोली खटिएको थियो । दुई दिनमा अभियानमार्फत नवजात शिशुदेखि १५ महिनासम्मका ७२ जनाले खोप सुविधा पाएका छन् । जसअनुसार विसीजी,दादुरा विरुद्धको खोप सञ्चालन गरिएको हो ।
खोप अभियानलाई थप व्यवस्थित र प्रभावकारी बनाउन कमल गाउँपालिकाका अध्यक्ष एवं कमल नगर अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष हुकुमसिंह राईले अभियान अझ ब्यवस्थित गर्न निर्देशन दिए पछि अस्पतालले अभियानलाई थप व्यवस्थित बनाउन थालिएको अस्पतालका कार्यालय प्रमुख दाहालले बताए । उनका अनुसार अबदेखि खोप लगाउनुपर्ने बालबालिकाको नाम, अभिभावकको नाम, सम्पर्क नम्बर, र खोपको नाम सार्वजनिक गरिनेछ । यसले खोप अभियानको प्रभावकारीता बढ्ने पालिका अध्यक्ष राईले बताए ।