दमक/ झापाको कमल २ स्थित कमल नगर अस्पतालको दोश्रो बार्षिकोत्सवको अवसरमा विशेषज्ञ डाक्टरहरुको सेवासहित बृहत निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । बिहिबार अस्पताल परिसरमा आयोजित शिविरको कमल गाउँपालिका अध्यक्ष हुकुमसिंह राईले उदघाटन गरेका छन् ।
शिविरको उदघाटन गर्दै गाउँपालिका अध्यक्ष राईले कमलबासीहरुको स्वास्थ्य सेवालाई स्थानीय सरकारले प्राथमिकतामा राखेर काम गरिरहेको बताए । उनले अस्पतालको सेवालाई आगामी दिनमा समय सापेक्ष फराकिलो बनाउँदै यसको स्तरोन्नती र बिकासलाई प्राथमिकतामा राखिएको बताए ।
२०७९ को फागुन १ गतेदेखि सञ्चालनमा आएको पाँच बेडको सो अस्पताल सञ्चालनको दोश्रो बार्षिकोत्सवलाई यस क्षेत्रका आम सर्वसाधारणको स्वास्थ्य सेवासँग जोडेर शिविर आयोजना गरिएको अध्यक्ष राईको भनाई थियो ।
सो अवसरमा भर्खर मात्रै संघीय सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट प्राप्त केही स्वास्थ्य जाँच उपकरणहरु गाउँपालिका अध्यक्ष राईले अस्पतालका मेसु डा. फुलकचन्द्र लावोती र स्वास्थ्य कर्मचारी गीता न्यौपानेलाई हस्तान्तरण गरे ।
सो अस्पतालले ०८१ जेठ १७ गतेदेखि ल्याब सेवा (प्रयोगशाला सेवा) नयाँ भवनबाट सञ्चालन गरिरहेको छ ।
सेवाको विस्तारपछि प्रयोगशाला परीक्षण गराउने बिरामीको संख्या उल्लेखनीय रूपमा बढेको अस्पताल प्रशासनले जनाएको छ ।
२०८१ असोज १६ गतेदेखि प्रत्येक महिनाको तेस्रो बुधबार मानसिक रोग विशेषज्ञ डा. नवराज कोइरालाको टोलीद्वारा नियमित मानसिक स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ ।
गाउँमै ल्याबसहितको गुणस्तरीय स्वास्थ्य सेवा बीमा कार्यक्रमको उपयोग गर्दै लिन पाउँदा खुशी लागेको शिविरमा भेटिएका सफल मुर्मूले प्रतिक्रिया दिए । उनले आफू परिवारको स्वास्थ्य परिक्षणका लागि महिला रोग विशेषज्ञ डाक्टरसँग परामर्श र उपचार सेवाका लागि आएको बताए । अस्पतालका मेसु डा. लावोतीले यस किसिमको शिविरले नागरिकहरुमा स्वास्थ्य जाँच तथा उपचारसँगै जनचेतनाको बिकासमा समेत योगदान दिने विश्वास गरिएको बताए ।
कमल गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत केशवकुमार ढकालले सुरक्षित मातृत्व सेवालाई पनि अघि बढाइरहेको र सरकारी स्वास्थ्य संस्थाप्रति नागरिकहरुको विश्वासलाई बढाउँदै चुस्त दुरुस्त सेवा प्रवाहका लागि स्थानीय सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
सो शिविरमा विराट मेडिकल कलेज टिचिङ्ग हस्पिटल (विराटनगर), बिर्ताज्योति आँखा अस्पताल (दमक)का विशेषज्ञ स्वास्थ्यकर्मीहरूबाट शिविरमा सेवा प्रदान गरिने उनले जानकारी दिए ।
स्वास्थ्य शिविरमा विराट मेडिकल कलेज टिचिङ्ग हस्पिटल, विराटनगरकी महिला रोग विशेषज्ञ डाक्टर रीना साह, नवजात शिशु तथा बाल रोग विशेषज्ञ डा. विजय साह, इन्टरनल मेडिसिन विशेषज्ञ डा. मुकेश साहसहितको जम्बो टोलीले सेवा प्रदान गरेको छ ।
त्यस्तै बिर्ता ज्योति आँखा अस्पताल दमकबाट अशोक तिवारी, पवित्रा मगर र प्रज्ञा कटुवालसहितको टोलीले सेवा प्रदान गरेको छ ।
शिविरमा चिकित्सकहरुले आवश्यकता अनुसार थप उपचारका लागि सम्बन्धित विभागमा सिफारिस गर्ने व्यवस्था समेत गरिएको छ ।
अस्पतालमा आमा डेन्टल क्लिनिकको सहयोगमा हप्ताको दुई दिन (आइतबार र बिहीबार) दन्त परीक्षण तथा दन्त एक्स–रे सेवा पनि प्रदान गरिँदै आएको छ ।

आगामी चैत्र महिनाभित्रै हप्ताको एक दिन निःशुल्क आँखा परीक्षण सेवा सञ्चालन गर्ने तयारी भइरहेको अस्पतालका कार्यालय प्रमुख दिपक दाहालले जानकारी दिए ।
२०७९ को जेठ ९ मा सार्वजनिक भएको स्थानीय चुनावको अन्तीम मत परिणामपछि पदभार ग्रहण गर्दै साविकको सो अस्पतालको सेवा विस्तार तथा स्वास्थ्य बीमा कार्यक्रम लागू गर्ने गाउँपालिका अध्यक्ष हुकुमसिंह राईले पहिलो निर्णय लिएका थिए ।
अस्पताल सञ्चालनमा आएपछि बार्षिक ३० हजार भन्दा बढी सेवाग्राहीले अस्पतालबाट सेवा लिएका तथ्याङक रहेको कार्यालय प्रमुख दाहालले बताए ।
अस्पतालले प्रसूति सेवा पनि सूचारु गरेपछि अहिले मासिक ७÷८ जना गर्भवती महिला प्रसूति गराउन यो अस्पतालमा आउने गरेका छन् । यस अघि यहाँ प्रसुती गराउनेको संख्या शून्य थियो ।