दमक/  झापाको कमल २ मा सञ्चालित कमल नगर अस्पताल स्थापनाको दुई बर्ष पूरा भएको छ । सो अस्पताल २०७९ को फागुन १ गतेदेखि सञ्चालनमा आएको थियो ।
साविकको तोपगाछीस्थित सो अस्पतालले व्यवस्थापन र सञ्चालनमा २०७९ को वैशाख ३० मा सम्पन्न स्थानीय चुनावपछि नयाँ नेतृत्व पाएपछि भौतिक पूर्वाधारसँगै जनशक्ति परिचालनलाई समेत व्यवस्थित बनाएका कारण यसबाट अधिकतम सर्वसाधारणले लाभ लिन सम्भव भएको हो ।
सो अस्पतालबाट स्वास्थ्य बीमा कार्यक्रमसहितको सेवा विस्तार गर्ने गाउँपालिका अध्यक्ष हुकुमसिंह राईले पहिलो निर्णय लिएका थिए ।
कमल नगर अस्पतालले तोपगाछी स्वास्थ्य चौकीलाई स्तरोन्नती गर्दै स्वास्थ्य बीमा कार्यक्रमसहित सेवा विस्तार गरी २०७९ फाल्गुन १ गतेदेखि सञ्चालन गरिरहेको छ ।
यसअघि तोपगाछी स्वास्थ्य चौकीमा वार्षिक ८/९ हजार बिरामीले सेवा लिने गरेकोमा अस्पताल सञ्चालनमा आएपछि बार्षिक ३० हजार भन्दा बढी सेवाग्राही आउने गरेका अस्पताल व्यवस्थापन पक्षले जनाएको छ ।
अस्पतालले प्रसूति सेवा पनि सूचारु गरेपछि अहिले मासिक ७/८ जना गर्भवती महिला प्रसूति गराउन यो अस्पतालमा आउने गरेका छन् । यस अघि यहाँ प्रसुती गराउनेको संख्या शून्य थियो ।


गाउँपालिकाको प्रत्यक्ष निगरानीमा अस्पताल सञ्चालन गरिएका कारण यसको व्यवस्थापन र सेवाप्रवाह सन्तोषजनक रहेको गाउँपालिका अध्यक्ष राई बताउँछन ।
कमलबासीहरुले आधारभूत स्वास्थ्य सेवा मात्रै होइन विशेषज्ञ डाक्टरको सेवा पनि यही अस्पतालबाट पाउनु पर्छ भन्ने मान्यता राखेर त्यसै अनुरुप हामी यसको बिकास र विस्तारमा लागेका छौं, सेवालाई अझ बढाउने बिषयमा भर्खर मात्रै पनि संघीय सरकारका स्वास्थ्य मन्त्री र मन्त्रालयका उच्च अधिकारीहरुसँग कुराकानी भएको छ– बुधबार मात्रै काठमाडौंबाट झापा फर्किएका गाउँपालिका अध्यक्ष राईले भने ।

उनले अस्पताल सञ्चालनको दोश्रो बार्षिकोत्सवको खुशीयाली अस्पतालका चिकित्सक, स्वास्थ्य कर्मचारी र आम कमलबासीहरुमाझ साट्ने विशेष कार्यक्रमका रुपमा फागुन १ गते बिहिबार बृहत निशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको पनि बताए ।
कमल नगर अस्पतालले वार्षिक उत्सवको अवसरमा आयोजना गर्न लागेको निःशुल्क स्वास्थ्य शिविरको सम्पूर्ण तयारी पुरा भएको अस्पतालका कार्यलय प्रमुख दिपक दाहालले जानकारी दिए । उनका अनुसार सो शिविरमा विभिन्न विशेषज्ञ चिकित्सकहरूको टोलीद्वारा निःशुल्क उपचार, परामर्श तथा औषधि समेत वितरण गरिनेछ ।

विराट मेडिकल कलेज टिचिङ्ग हस्पिटल (विराटनगर), बिर्ताज्योति आँखा अस्पताल (दमक)का विशेषज्ञ स्वास्थ्यकर्मीहरूबाट शिविरमा सेवा प्रदान गरिने उनले जानकारी दिए ।
स्वास्थ्य शिविरमा विराट मेडिकल कलेज टिचिङ्ग हस्पिटल, विराटनगरकी महिला रोग विशेषज्ञ डाक्टर रीना साह, नवजात शिशु तथा बाल रोग विशेषज्ञ डा. विजय साह, इन्टरनद मेडिसिन विशेषज्ञ डा. मुकेश साहसहितको जम्बो टोलीले सेवा प्रदान गर्नेछ ।
त्यस्तै बिर्ता ज्योति आँखा अस्पताल दमकबाट अशोक तिवारी, पवित्रा मगर र प्रज्ञा कटुवालसहितको टोलीले सेवा प्रदान गर्ने जनाइएको छ ।
शिविरमा चिकित्सकहरुले आवश्यकता अनुसार थप उपचारका लागि सम्बन्धित विभागमा सिफारिस गर्ने व्यवस्था समेत गरिएको छ ।

अस्पतालको विकास र विस्तार
सो अस्पतालले ०८१ जेठ १७ गतेदेखि ल्याब सेवा (प्रयोगशाला सेवा) नयाँ भवनबाट सञ्चालन गरिरहेको छ । सेवाको विस्तारपछि प्रयोगशाला परीक्षण गराउने बिरामीको संख्या उल्लेखनीय रूपमा बढेको छ ।


२०८१ असोज १६ गतेदेखि प्रत्येक महिनाको तेस्रो बुधबार मानसिक रोग विशेषज्ञ डा. नवराज कोइरालाको टोलीद्वारा नियमित मानसिक स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ । यसले बिरामीहरूलाई यतिबेला टाढा जानुपर्ने झन्झट हटाएको छ ।
डेन्टल क्लिनिकको सहयोगमा हप्ताको दुई दिन (आइतबार र बिहीबार) दन्त परीक्षण तथा दन्त एक्स–रे सेवा पनि प्रदान गरिँदै आएको छ ।
आगामी चैत्र महिनाभित्रै हप्ताको एक दिन निःशुल्क आँखा परीक्षण सेवा सञ्चालन गर्ने तयारी भइरहेको अस्पतालले जनाएको छ ।

Facebook Comments Box