दमक/  भ्रष्टाचार विरुद्ध खवरदारी गर्न भन्दै देशव्यापी रुपमा ठाउँ ठाउँमा माओवादी केन्द्रले आयोजना गर्दै आएको सभालाई पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आफैंले सम्बोधन गरिरहेका छन् ।
माओवादीले संविधान सभा निर्वाचन २०६४ मा ल्याएको निर्वाचन परिणामलाई ०८४ मा दोहोरयाउने उदघोष ति सभाहरुमा गरिरहेको छ । यसका लागि माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड हदै सम्मको लचक भएर कार्यकर्ताहरु र आफ्ना समर्थक , शुभेच्छुकहरुमाझ प्रस्तुत हुँदै आएका छन् ।

त्यति मात्रै होइन प्रचण्डले कुनैबेला काँध हालाहाल गरेका एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्ला झापालाई सम्बोधनका लागि तार्गेट बनाइरहेको देखिन्छ ।
दुई महिनाका बीचमा प्रचण्ड तेस्रो पटक झापा आउने कार्यक्रम सार्वजनिक भएको छ ।
एक महिना अघि झापा आएर गाउँ गाउँ घुम्दै गौरीगञ्जमा आयोजित खबरदारी सभालाई सम्बोधन गरेका उनी यहि फागुन ३ गते दोश्रो पटक र फागुन १२ गते तेस्रो पटक झापा आउँदैछन् । ३ फागुनमा उनले दमकमा आयोजना हुने पार्टीको दोश्रो नगर सम्मेलनको खुल्ला सत्रसहितको खबरदारी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ भने १२ फागुनमा कचनकवलबाट हुलाकी मार्ग केन्द्रित पार्टीको जागरण अभियानको शुभारम्भ गर्ने माओवादी झापाका संयोजक राजु आचार्य (अग्नी)ले बताए ।

झापामा पार्टीलाई सक्रिय बनाउन माओवादी केन्द्र झापाको इञ्चार्जको जिम्मेवारी समेत माओवादीले युवा नेता एवं अखिल क्रान्तीकारीका पूर्व अध्यक्ष समेत रहेका रञ्जीत तामाङलाई दिएको छ ।
तामाङले राष्ट्रिय राजनीतिमा समेत प्रभावकारी भुमिका खेल्ने हैसियत राख्दछन् । प्रचण्डले ओलीलाई काउण्टर दिनैका लागि झापाको कमलका स्थायीबासिन्दा युवा नेता तामाङलाई ओलीको गृह जिल्लामा महत्वपूर्ण जिम्मेवारी पठाएका माओवादी वृत्तमा चर्चा छ ।

झापाको दमक आउने कार्यक्रमलाई भब्य बनाउँन माओवादीले सांगठनिक एकता र सक्रियता बढाएको छ । प्रचण्डको दमक आउने कार्यक्रमको अन्तिम तयारी भइरहेको आयोजक समितिले दमकमा बुधवार पत्रकार सम्मेलन गरेर जानकारी दियो । पत्रकार सम्मेलनमा पार्टीका जिल्ला इञ्चार्ज तामाङले दमकमा हुने सभामा जनता समाजवादी पार्टीका पूर्व प्रदेश कमिटी अध्यक्ष प्रविण चाम्लिङसहित एमाले, कांग्रेस लगायतका ठुला दल छोडेर थुप्रै संख्यामा माओवादी पार्टी प्रवेश गर्ने घोषणा गरे ।

जिल्ला इन्चार्ज तामाङ्गले अबको समाजवादी क्रान्तिको आधार क्षेत्र पूर्व बन्ने बताउँदै ओलीको निर्वाचन क्षेत्रमा अध्यक्ष प्रचण्डको उपस्थितिले राजनीतिक क्षेत्रमा नयाँ तरङ्ग पैदा गर्ने बताए ।
कार्यक्रमका प्रचार प्रसार संयोजक रेवतराज पुरी (गगन) ले फाल्गुन ३ मा हुने कार्यक्रममा अध्यक्ष दाहालले सम्बोधन गर्ने कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए ।
पार्टीका दमक नगर कमिटी अध्यक्ष कूल बहादुर बस्नेत (रवि)को अध्यक्षतामा सञ्चालित पत्रकार सम्मेलनमा बैकल्पिक केन्द्रिय सदस्य विरेन्द्र बस्नेत, पार्टी जिल्ला संयोजक अग्नी लगायत प्रदेश , जिल्ला र नगरका नेता तथा कार्यकर्ताहरु सहभागी थिए ।

Facebook Comments Box