दमक/ सिंगै घर वा भरको तला ( फ्ल्याट) भाडामा लिएर व्यवसायिक रुपमा यौनधन्दा चलाउने क्रम बढेको छ ।
होटल तथा लजहरुको विकल्पमा व्यवसायिक यौनधन्दा सञ्चालन गर्न त्यस किसिमले फ्ल्याट वा सिंगै घर भाडामा लिने गरेको पाइएको हो ।
झापाको दमक, विर्तामोड , काँकरभिट्टा जस्ता पुराना र ठूला शहरसंगै यो क्रम अहिले शहरसंग जोडिएका आसपासका ग्रामिण क्षेत्रमा पनि चलेको छ ।
यसैबीच अर्जुनधारा नगरपालिका ६ स्थित माता मन्दिरनजिकै फ्ल्याट भाडामा लिएर यौनधन्दा सञ्चालन गर्ने गराउने गिरोहमाथि प्रहरीले अनुसन्धान शुरु गरेको छ । गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय अनारमनिबाट खटिएको प्रहरी टोलीले फ्ल्याट भाडामा लिएर यौनधन्दा सञ्चालन गर्ने समुहका युवतीहरुलाई त्यहाँबाट उद्धार गरी अनुसन्धान शुरु गरेको हो ।
त्यस्तो धन्दा गराउने मुख्य पात्रका रुपमा रहेकी सो वडाकी शोभादेवी खत्री फरार भएको इलाका प्रहरी कार्यालय अनारमनिका प्रहरी नायव उपरीक्षक (डिएसपी) मोहन थापाले जानकारी दिनु भयो । ‘उद्धार गरिएका युवतीसँग सोधपुछ गरिरहेका छौं’, डिएसपी थापाले भन्नुभयो, ‘युवतीसँग सोधपुछ गर्दा सो फ्ल्याट भाडा लिएर खत्रीले दुई महिनादेखि यौनधन्दा सञ्चालन गरिरहेको खुलेको छ ।’ उद्धार गरिएका युवतीहरू भारतीयसहित नेपालकै विभिन्न जिल्लाका रहेका छन् ।
यता महिला खत्री विरुद्ध प्रहरीले मानव बेचबिखनको मुद्दा दर्ता गरेर कारबाही अघि बढाइसकेको छ । फ्ल्याटमा आउने, युवती छान्ने, त्यसपछि बिर्तामोड, दमक र काँकडभिट्टाका होटेल तथा लजसम्म लैजाने गरेको अर्को एक युवतीको बयानलाई उदृत गर्दै प्रहरीले जानकारी दिएको छ ।
त्यसबापत अखडा सञ्चालक खत्रीले एक रातको ७ हजारसम्म लिने गरेको खुलेको छ ।