झापा/  झापामा पछिल्लो समय बढेको हात्ती समस्याका बारेमा प्रतिनिधि सभा सदस्य लालप्रसाद (एलपी) साँवाले आज संसदमा सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभा बैठकको शून्य समयमा सांसद साँवाले आफ्नो निर्वाचन क्षेत्र झापा ४ अन्तर्गतको शिवसताक्षी नगरपालिका र पूर्वपश्चीम राजमार्ग आसपासमा जंगली हात्तीका कारण बढ्दो जनधनको क्षति रोकथाम गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराएका हुन् ।
सांसद साँवाले हात्ती प्रभावित क्षेत्रमा घर तथा बालीनालीको बीमा गर्ने व्यवस्था सरकारले मिलाउनु पर्ने, हात्ती प्रभावित मानव वस्तीमा अत्याधुनिक तारजाली व्यवस्थापन गर्न , जीपिएस ट्रयाकिङ प्रणाली लागू गर्न , र वनस्पति पुनस्र्थापना कार्यक्रम तत्काल लागू गर्न सरकारसँग आग्रह गरे ।

कोशी प्रदेश सरकारलाई उदृत गर्दै हात्तीको प्रभाव सम्बन्धिको तथ्यांक प्रस्तुत गरेका सांसद साँवाले हात्तीकै कारण कोशीमा विगत ३ वर्ष यता १० जनाको मृत्यु भएको, ७० जना घाइते, १५० घरधुरी भत्काएर क्षति गरेको तथा शिवसताक्षी नगर भित्रका ४०० घर धुरी हात्तीको अति जोखिममा रहेको उल्लेख गरे ।

साँवाले संसदमा अगाडी भने– हात्ती आतंकका कारण स्थानीयहरू रातभर पहरेदारी गर्न बाध्य छन् . निरन्तर घर, बालीनाली तथा अन्य संरचनामा क्षति पुगिरहेको छ तत्काल यसको दिगो समाधानका लागि सरकारको ध्यानाकर्षण गराउँछु ।

नेपालमा मानव–हात्ती द्वन्द्व झापा, मोरङ, सुनसरी, सप्तरी र बर्दियामा गम्भीर रूपमा देखिएको छ ।

भारत, थाइल्याण्ड र श्रीलंकाले जीपिएस ट्रयाकिङ, सौर्य–शक्ति प्रवद्र्धित इलेक्ट्रिक फेन्सिङ, बीमा प्रणाली, ‘फूड फोरेस्ट’ अवधारणा र वन्यजन्तु जस्ता प्रभावकारी उपाय अपनाइसकेका छन् ।

Facebook Comments Box