दमक/ गुणस्तरीय शिक्षा र व्यवहारिक शिक्षाका लागि विद्यार्थीहरूको सिकाई आदानप्रदान गर्ने उद्देश्यले विभिन्न विद्यालयहरूको सहकार्यमा झापा मोडल स्कुल दमकले गर्दै आएको विद्यार्थी आदानप्रदान कार्यक्रमलाई निरन्तरता दिएको छ ।
कार्यक्रम अन्तर्गत काठमाडौँका एन. के. सिँह मेमोरियल स्कुल र ब्राइट फ्युचर स्कुलका २३ जना विद्यार्थीहरू झापा मोडल अङ्ग्रेजी विद्यालयमा सिकाई आदानप्रदानका लागि आएका छन्।
उनीहरूलाई विद्यालयले पूर्वका विभिन्न पर्यटकीय, ऐतिहासिक, धार्मिक पौराणिक तथा औद्योगिक क्षेत्रहरूको अवलोकन गराएको छ भने विद्यार्थी सिकाई र अनुभवहरू आदानप्रदान गर्दै शैक्षिक वातावरण दिदै आइरहेको छ ।
विद्यालयका शैक्षिक गतिविधि,पठनपाठनमा उनीहरुलाई जानकारी तथा प्रत्यक्ष सहभागी गराइएको विद्यालयले जानकारी दिएको छ ।
सहभागी विद्यार्थीलाई पठनपाठन र सिकाइ पद्दतिसँगै पूर्वका कला,सँस्कृतिको विषयमा समेत जानकारी दिइएको थियो ।
धिमाल कला,सँस्कृति,नृत्य साथै पहिरनका विषयमा व्यवहारिक ज्ञान दिदै विद्यालयमा धिमाल चिचिरी परिकार बनाएर उनीहरुलाई धिमाल सँस्कृतिको विषयमा ज्ञान दिइएको थियो । विद्यार्थीहरु प्रत्यक्ष रमाएर धिमाल सँस्कृति सिक्न रुचाएका थिए भने पहिरन,नृत्य र परिकारमा रमाएका थिए ।
उनीहरुलाई दमक ३ स्थित भ्यू टावर (प्रस्तावित दमक विजनेश कम्प्लेक्स), शिवसताक्षीस्थित धार्मिक पर्यटकीय क्षेत्र सताक्षीधाम, अर्जुनधाराधाम, किच्चकबध, धरान, भेडेटार, काँकरभिट्टास्थित भारतीय सीमा क्षेत्रको अवलोकन गरे ।
उनीहरुले सो क्रममा यहाँका आदिवासीहरुमाझ लोकप्रिय खाजा भक्का, चिचिरो लगायतका मौलिक खाने कुराहरु खाजाको परिकारका रुपमा खाएका छन् ।
विद्यार्थी आदानप्रदान कार्यक्रमबाट विद्यार्थीको सिकाई, ज्ञान र सीपको स्तर बढ्ने साथै अ विभिन्न पर्यटकीय औद्योगिक धार्मिक पौराणिक स्थलहरूको समेत अवगत हुने साथै कला संस्कृतिको पनि ज्ञान हुने कुरा विद्यालयका प्रिन्सिपल सागर श्रेष्ठले बताए ।
सोही क्रममा काठमाडौंबाट आएका बिद्यार्थीहरुसँग दमक नगर प्रमुख रामकुमार थापाले साक्षात्कार समेत गरेका छन् । झापा मोडलले शिक्षण सिकाईमा विभिन्न फरक फरक नमुना अभ्यासहरु गर्दै आएको छ ।
