दमक/ नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) झापाले प्रदान गर्दै आएको स्व. डिकमान विरही सुनुवार स्मृति वर्ष उत्कृष्ट पत्रकारिता पुरस्कार २०८१ झापा दमकका पत्रकार विष्णु सुब्बालाई प्रदान गरिने भएको छ ।
अग्रज पत्रकार स्व. डिकमान विरही सुनुवारको स्मृतिमा फोनिजले प्रदान गर्दै आएको पुरस्कार यो पटक सुब्बालाई प्रदान गर्ने निर्णय भएको फोनिज झापाकी अध्यक्ष भुमिका सुब्बा फियाकले जानकारी दिइन् । झापाको दमकलाई कर्मथलो बनाएर २५ बर्ष अघिदेखि निरन्तर पत्रकारितामा क्रियाशील पत्रकार सुब्बा राष्ट्रिय समाचार समिति (रासस) सम्वाददाताका रूपमा छन् ।
उनी चेसुङ मिडिया प्रालिद्धारा सञ्चालित प्रदेशवाणी डटकमका सम्पादक समेत हुन् ।
पूर्वअध्यक्ष गणेशमान मुखीयाको संयोजकत्वमा रहेको फोनिज झापाको ५ सदसीय पुरस्कार छनोट समितिले सुब्बाको नाम सिफारिस गरेको हो । समितिको सिफारिसमा सुब्बालाई पुरस्कार प्रदान गर्ने निणर्य भएको अध्यक्ष फियाकले बताइन् । सो पुरस्कारको राशि नगद २५ हजार रूपैयाँ रहेको छ ।
त्यस्तै, फोनिज उदीयमान पत्रकारिता पुरस्कार २०८१ बाट सूर्याेदय टेलिभिजनमा कार्यरत पत्रकार रविकिरण बान्तावा राई र हरप्रहर न्यूज डटकममा कार्यरत सजन राईलाई प्रदान गर्ने निर्णय भएको फोनिजका जिल्ला सचिव तिलक योञ्जनले जानकारी दिए ।
उदीयमान पत्रकारिता पुरस्कारको राशि ५÷५ हजार रूपैयाँ रहेको छ ।
३ वटै पुरस्कार २०८१ माघ १९ गते बिर्तामोडमा हुने फोनिज झापाको सातौं जिल्ला अधिवेशनको अवसरमा प्रदान गरिनेछ ।