दमक/ झापाको दमकमा समुदायस्तरबाट स्थापना गरिएको उज्यालो दमक नामक सामाजिक संस्थाले विपन्न तथा असहाय एक परिवारलाई सहयोग गरेर आफ्नो पहिलो कार्यक्रमको शुरुवात गरेको छ ।
दमकका उद्योगी व्यवसायी नेता समेत रहेका राजेन्द्र ढकालको नेतृत्वमा स्थापना भएको सो संस्थाले आइतबार बिहान दमक ५ हरिऊँ कोलनी भित्र रहेका ६२ बर्षिय खड्के धिमाल र ६१ बर्षिया धनमाया धिमाल दम्पत्तीलाई ओढ्ने ओछ्याउने दुई सेट कपडा प्रदान गरेर सेवामुखी कार्यक्रम शुरुवात गरेको हो ।
ढकालको नेतृत्वमा रहेको उज्यालो दमक नामक संस्थाको कार्यसमितिका पदाधिकारी एवं सदस्यहरु तथा स्थानीय सामाजिक सहयोगी व्यक्तित्वहरुको समुहले धिमाल दम्पत्ती बस्दै आएको घरैमा पुगेर दुई थान सिरक, दुई थान डसना, दुई थान तन्ना र दुई थान सिरानी सहितको न्यानो ओढ्ने ओछ्याउने विस्ताराको सेट प्रदान गरेका हुन् ।


सोही अवसरमा दमक खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाबाट धिमाल परिवारलाई पचास प्रतिशत शुल्क समेत संस्थाको तर्फबाट बुझाएर खानेपानी धारा जडान गरिदिने प्रतिबद्धता जनाइएको छ ।
खानेपानी संस्थाकी सञ्चालक समिति सदस्य पार्वता ढकालले संस्थाको नियमानुसार पचास प्रतिशत छुट शुल्कमा विपन्न तथा असहाय धिमाल परिवारलाई खानेपानीको धारा जडानका लागि सिफारिस गर्ने जानकारी गराइन् । धिमाल परिवारलाई सो सहयोग हस्तान्तरण गर्न आयोजित संक्षिप्त कार्यक्रमको सञ्चालन उज्यालो दमक संस्थाकी सचिव गम्भिरा दाहाल कार्कीले गरेकी थिइन् ।

 

Facebook Comments Box