कमल/ झापाको कमल गाउँपालिकामा आजदेखि जिल्लास्तरीय अन्तरपालिका कर्मचारी फुटबल प्रतियोगिताको ७ औं संस्करण शुरु भएको छ । कमल ५ स्थित गुह्येश्वरी आधारभूत बिद्यालयको भेट्रान खेल मैदानमा शुरु प्रतियोगिताको कमल गाउँपालिका अध्यक्ष हुकुमसिंह राईले उदघाटन गरेका छन् ।
सो अवसरमा अध्यक्ष राईले स्वास्थ्यका लागि खेलकुद , राष्ट्रका लागि खेलकुद भन्ने नारासहित सञ्चालन भएको यस किसिमका खेलकुद प्रतियोगिताले सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गरे ।
झापा जिल्लाका १५ वटै पालिकाहरुले त्यस किसिमको प्रतियोगितामा बर्षेनी सहभागिता जनाउँदै आएका छन् । प्रतियोगिताका माध्यमबाट झापा जिल्लाका पालिकाहरु कर्मचारीहरुबीचको अन्तर सम्बन्ध समेत सुमधुर हुने विश्वास लिइएको छ ।
प्रतियोगिता अन्तर्गतको पहिलो खेलमा अर्जुनधारा नगरपालिकाले गौरादह नगरपालिकामाथी जित हासिल गर्दै विजयीको यात्रा शुरु गरेको छ ।
त्यस्तै दोस्रो खेलमा भद्रपुर नगरपालिकाले बुद्धशान्ति गाउँपालिकालाई हराएको छ । सो प्रतियोगिता माघ १९ सम्म सञ्चालन हुने प्रतियोगिता सञ्चालन समितिका सहसंयोजक दिपेन्द्र लामिछानेले जानकारी दिए ।
प्रतियोगिताको विजेता टिमले नगद १ लाख रुपैयाँ राशीको पुरस्कार जित्नेछ । प्रतियोगिता सम्पन्न गर्न कमल गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख सूर्य न्यौपानेको संयोजकत्वमा ७ सदस्यीय समिति गठन गरेर आवश्यक तयारी गरेको हो । अघिल्लो बर्ष सो प्रतियोगितामा उपाधी विजेता कमल गाउँपालिका यस बर्ष आयोजक बनेको हो । प्रतियोगिता उदघाटनको अवसरमा गौरादह नगरपालिकाका प्रमुख छत्रपति सुवेदी, कमल गाउँपालिका उपाध्यक्ष प्रमिला न्यौपाने , प्रमुख प्रशासकीय अधिकृत केशवकुमार ढकाल लगायतको विशेष आतिथ्य रहेको थियो ।