दमक/ दमकमा सञ्चालित कर्नरस्टोन फाउन्डेसनले शुक्रबार फाल्गुनन्द गाउँपालिका वडा नं ६ मेलबोटेका सर्वसाधारण एक सय जनालाई जाडोको लागि उपयुक्त पहिरन र शैक्षिक सामग्री वितरण गरेको छ ।
४ देखि १४ वर्ष उमेर समुहका विद्यार्थी र उनीहरुका इच्छुक अभिभावक महिलाहरु समेत करिब एक सय जना लक्षित वर्गलाई सो सहयोग सामग्री प्रदान गरिएको हो । फाउन्डेसनले सामाजिक उत्तरदायित्व अन्तर्गत सो सहयोग प्रदान गरेको जनाएको छ ।
फाल्गुनन्द ६ का वडाध्यक्ष नारायण प्रसाद आङदेम्बे, वडा सचिव जय बहादुर तामाङ लगायत अन्य जनप्रतिनिधि, स्थानीयवासी, र फाउन्डेसनकी कोर्डिनेटर सुस्मा केदम गजमेरको उपस्थिति रहेको थियो ।
फाउन्डेसनका संस्थापक युवराज गजमेरका अनुसार, गत वर्ष पनि पाँचथरको याङवरक गाउँपालिका र जाजरकोटका भूकम्प प्रभावित क्षेत्रहरूमा सहयोग प्रदान गरिएको थियो ।
वडा अध्यक्ष आङदम्बेले फाउन्डेसनको सो सहयोगको प्रशंसा गरेका छन् । यस किसिमका प्रयासहरूले समाजमा सकारात्मक परिवर्तन ल्याउने प्रेरणा प्रदान गर्ने उनको विश्वास छ ।
कर्नर स्टोनका संस्थापक गजमेरले आगामी दिनमा थप क्षेत्रहरूमा सहयोग कार्यक्रम विस्तार गर्दै जाने प्रतिबद्धता जनाए ।