दमक/ राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रिय समितिले सञ्चालन गरेको संगठन  निर्माण बर्ष २०७६ अन्तर्गत देशव्यापी रुपमा कार्यकर्ता प्रशिक्षण शुरु भएको छ ।

पार्टीका केन्द्रिय प्रशिक्षण विभागका सदस्य बासुदेव भट्टराईका अनुसार पालिकास्तरमा त्यस किसिमको प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको हो ।
सो अन्तर्गत आज झापाको दमकमा पार्टीको दमक नगर समिति र कमल गाउँपालिका समितिले संयुक्त रुपमा कार्यकर्ता प्रशिक्षण कार्यक्रम शुरु गरेका छन् ।
पार्टीका केन्द्रिय महामन्त्री राजेन्द्र लिङदेनको प्रमुख उपस्थितीमा हुने भनिएको सो प्रशिक्षण कार्यक्रमको उद्घाटन सहमहामन्त्री राजेश गिरीले गर्नुभएको छ भने प्रशिक्षणका क्रममा पार्टी महामन्त्री लिङदेनले समेत सम्बोधन गर्ने कार्यक्रम रहेको राप्रपा दमक नगर समितिका अध्यक्ष भिम पौडेलले जानकारी दिनु भयो ।

प्रशिक्षण कार्यक्रम उद्घाटन गर्दै सहमहामन्त्री गिरीले यतिबेला राष्ट्रवादी नेपाली जनतालाई आफ्नो माटो र राष्ट्रियताका लागि चुप लागेर बस्ने छुट नरहेको बताउनु भयो । नगर अध्यक्ष पौडेल र कमल गाउँ समिति अध्यक्ष विष्णु प्रसाद पौडेलको सभापतित्वमा भएको उद्घाटन कार्यक्रममा क्षेत्रीय अध्यक्ष विजय बरालले पार्टीको केन्द्रिय नीति अनुसार सञ्चालित प्रशिक्षण कार्यक्रम सबै स्थानीय तहमा पुग्ने जनाउनु भयो । उहाँले आगामी जेठमा हुने पार्टीको राष्ट्रिय महाधिवेशनलाई लक्षित गर्दै संगठन निर्माण कार्यक्रम अघि बढिरहेको पनि उल्लेख गर्नुभयो । प्रशिक्षण कार्यक्रममा दमक र कमलका करीब २ सय जना अगुवा कार्यकर्ता सहभागी छन् ।सो कार्यक्रममा केन्द्रिय नेताहरुसहित प्रशिक्षण विभागका केशव ओझा, रञ्जु प्याकुरेल, बासुदेव भट्टराई लगायतले विभिन्न बिषयमा प्रशिक्षण दिईरहेका नगर अध्यक्ष पौडेलले जनाउनु भयो ।

Facebook Comments Box