दमक/ नेपााली कांग्रेस कोशी प्रदेशले ‘कचनकवल–सगरमाथा जागरण अभियान’ शुरु गरेको छ ।
नेपालकै होचो भू–भाग कचनकवल स्तम्भबाट अभियानको शुरुवात गरिएको हो । अभियानको नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र कोशी प्रदेश सभापति उद्धव थापाले संयुक्त रुपमा सेतो परेवा उडाएर अभियानको उदघाटन गरेका हुन् ।
सात महिनासम्म सञ्चालन हुने अभियान सगरमाथामा पुगेर समापन गरिने नेपाली कांग्रेस कोशी प्रदेश सभापति थापाले बताए ।
सो अवसरमा पार्टीका पूर्वमहामन्त्री एवम् पूर्व उपप्रधान तथा गृहमन्त्री समेत रहेका सिटौलाले संविधान संशोधन गर्नुअघि संविधान कार्यान्वयनका विषयमा कहाँ–कहाँ समस्या छन् त्यो विषयमा छलफल हुन जरुरी रहेको बताए ।
उनले भने– अहिलेको आवश्यकता संविधान संशोधन महत्वपूर्ण विषय होइन, संविधान कार्यान्वयनमा देखिएका समस्याको पहिचान र निराकरण मूल कुरा हो । स्थानीय तथा प्रदेश सरकारले अहिले पनि कानून निर्माण गरिसकेका छैनन् – उनले भने – कानून निर्माणका क्रममा कहाँ समस्या छ, त्यो विषयमा छलफल हुन जरुरी छ । स्थाानीय तह आफै अधिकार सम्पन्न छन् के कारणले उनीहरुले अहिलेसम्म पनि कानून निर्माण गर्न सकेका छैनन, यावत विषयमा छलफल हुन जरुरी छ । संविधान संशोधन गर्नै नहुने विषय होइन, तर त्यस पूर्व छलफल हुन जरुरी छ– महामन्त्री सिटौलाले भने– नेपाली कांग्रेसको पहिलो एजेन्डा भनेकै जनजीविकाको मुद्दा हो ।
त्यस्तै कार्यक्रमलाई सम्वोधन गर्दै महामन्त्री शर्माले नेपाल र नेपालीको जीवन पद्धतिलाई बुझेर मात्रै संविधान संशोधन गरिने बताए ।
नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले भनेझैं २०८७ मा संविधान संशोधन गर्ने भन्ने कुरा मान्न नसकिने बताउँदै उनले यस्तो बताएका हुन् ।
नेपाली कांग्रेसलाई अन्य पार्टीलाई जस्तो चुनावको चिन्ता छैन– महामन्त्री शर्माले भने– कांग्रेसलाई २०८४को चुनावको कुनै चिन्ता नभई नेपाल र नेपालीको चिन्ता छ ।
महामन्त्री शर्माले भने– ‘प्रधानमन्त्री ओलीले २०८७मा मात्रै संविधान संशोधन हुन्छ भन्नू भएको मैले सुनँे’– उनले भने– एमालेको बैठकमा प्रधानमन्त्रीलाई त्यो भन्ने छुट छैन, कांग्रेसलाई पनि छैन, सात बुँदे सहमति गरेका कांग्रेस र एमालेको सहमतिमा मात्रै भन्न सकिन्छ ।’
अभियानमामा सरिक कांग्रेस कार्यकर्तालाई गाउँ– गाउँ पुगेर संविधान संशोधनको भावना प्रवाह गर्न महामन्त्री शर्माले आग्रह गरे ।
अभियानलाई पार्टीको अवस्था र सोच बदल्ने अभियानका रूपमा बुझेर अगाडि बढ्न सुझाव दिए । संविधान संशोधन गर्न संख्या पुग्दैन भन्ने हो भने माओवादीसँग पनि कुरा गर्न सकिने तर पार्टी बैठकमा कसैले पनि भन्न नमिल्ने उनको भनाइ छ ।
एमालेको केन्द्रीय कमिटी बैठक समापन गर्दै मंगलबार प्रधानमन्त्री ओलीले तत्काल संविधान संशोधन नहुने बताउँदै ‘संविधानमा केही त्रुटि छन्, संशोधन गर्नुपर्नेछ । तर, ०८७ मा मात्रै हुन्छ’ भनेका थिए ।
कार्यक्रममा पार्टीका सहमहामन्त्री भीष्मराज आङ्देम्वे, केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्की, वन तथा बातावरण मन्त्री ऐनबहादुर शाही, नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेसहित नेपाली कांग्रेस कोशी प्रदेशका १४ वटै जिल्लाका सभापति तथा प्रतिनिधिले सम्बोधन गरेका थिए ।
प्रदेशसभा सदस्य तथा कोशी प्रदेशका राज्य मन्त्री भूमिप्रसाद राजवंशीले स्वागत गरेको कार्यक्रमको सहभागी बक्ताले संगठन सुदृढीकरण, पार्टीमा देखिएको गुट– उपगुटको अन्त्य, भ्रातृत्वको सहअस्तित्व स्थापित गर्दै पार्टीलाई थप मजबुत र चलायमान बनाउन अभियानले महत्वपूर्ण भूमिका खेल्ने बताएका थिए ।
जागरण अभियान प्रत्येक महिना दुई जिल्लामा उक्त जिल्लाको पहिचान र विशेषताका आधारमा सञ्चालन हुने र असार २० गते सगरमाथाको आधार शिविर सोलुखुम्बूको सल्लेरीमा समापन गरिने बताइएको छ ।
उदघाटन समारोहमा कोशी कांग्रेस स्वास्थ विभाग र ॐ साई पाथीभरा हस्पिटलको सहयोगमा निःशुल्क स्वास्थ शिविर सञ्चालन गरिएको छ भने नेविसंघ र तरुण दलको संयोजनमा रक्तदान आयोजना गरिएको थियो ।
