कमल/ नेपाल रेडक्रस सोसाईटी कमल उपशाखाको सभापतिमा पुनःचन्द्र साह निर्विरोध चयन भएका छन् ।उपशाखाको आज सम्पन्न निर्वाचन कार्यक्रम अन्तर्गत उम्मेदवार मनोनयनमा साहको मात्र उम्मेदवारी दर्ता भएपछि उनी सभापतिमा निर्विरोध निर्वाचित भएका हुन् ।
रेडक्रस झापाका उपमन्त्री समेत रहेका निर्वाचन अधिकारी प्रकाशचन्द्र खरेलका अनुसार ११ सदस्यीय कार्यसमितिमा सभापतिसहित पदाधिकारीतर्फ उपसचिवमा विष्णु सुब्बा आङदेम्बे, कोषाध्यक्षमा प्रमोदकुमार दाहाल र उपकोषाध्यक्षमा सन्तोष राई निर्विरोध चुनिएका छन् । निर्विरोध सवै निर्वतमान समितिको सोहि पदकै जिम्मेवारीमा रहेका थिए ।
यसैगरि, महिला सदस्यमा पुनः बिमला भट्टराई निर्विरोध चयन भईन् । पदाधिकारीतर्फ एक उपसभापतिमा चन्द्रकला भण्डारी र नरमाया तामाङको उम्मेदवारी परेको छ भने सचिवमा पारषमणि राई र किरण चाम्लिङको उम्मेदवारी परेको निर्वाचन अधिकारी खरेलले बताए ।
यसैगरि,पाँच जना खुल्ला सदस्यतर्फ रविन कार्की, तुलसी तिवारी, केशव तिम्सिना,विष्णु वगाले, एकराज प्याकुरेल, सिताराम बाँस्तोला , दिलु गुरुङ, सृजना निरौला र लक्ष्मीकुमारी न्यौपाने गरि १० जनाको उम्मेदवारी परेको छ । निर्वाचन कार्यक्रम अन्तर्गत उम्मेदवारको नाम फिर्ताका लागि भोलि २४ पुस १ वजेसम्म ,सोहि दिनको १.३० वजे उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गरिने तथा २९ गते विहान ९ देखि २ वजेसम्म मतदान कार्यक्रम तय गरिएको निर्वाचन अधिकारीले खरेलले बताएका छन् । उपशाखामा विशिष्ट,आजीवन सदस्य गरि कुल ४१२ जना मतदाता रहेका छन् ।