दमक/ झापाको दमकमा आज सरकारद्धारा प्रतिबन्धित विप्लव नेतृत्वको नेकपा सम्बद्ध विद्यार्थी संगठन अखिल क्रान्तीकारीको मेची कोशी ब्यूरोले भारतीय विस्तारवाद र सरकारको विरोधमा प्रदर्शन गरेको छ ।
ब्यूरोको ब्यानरमा दमक बहुमुखी क्याम्पस अगाडीबाट शुरु भएको विरोध प्रदर्शनमा सो क्याम्पसका अतिरिक्त अन्य कलेजका विद्यार्थीहरु समेत स्वतस्फूर्त रुपमा उत्रिएका थिए । व्यानरमा सो प्रदर्शनमा समाजवादी विद्यार्थी युनियन, संघीय विद्यार्थी युनियन र लिम्बुवान विद्यार्थी मञ्चको समेत ऐक्यबद्धता रहेको उल्लेख छ ।
विद्यार्थीहरुले भारतले हालै सार्वजनिक गरेको नक्सामा लिपुलेक लगायतको क्षेत्रलाई समावेश गरेर नेपाली भुमीमाथि अतिक्रमण गरेको भन्दै चर्का नाराबाजी गरेका थिए । त्यसक्रममा उनीहरुले सरकारको अकर्मण्यताको समेत विरोध जनाए । प्रदर्शनपछि गणतन्त्र चोकमा संक्षिप्त कोण सभा भएको थियो ।
कोणसभास्थलमा ब्यापक प्रहरी परिचलान भएका कारण प्रदर्शनकारीहरु तत्कालै कार्यक्रम समापनको जानकारी गराउँदै त्यहाँबाट हिंडेका थिए । प्रहरीले प्रदर्शनकर्ताको नेतृत्वको खोजी गर्न थालेपछि विद्यार्थी संगठनका नेतृत्व त्यहाँबाट हिंडे । त्यसैगरी आज बिहाननै गौरीगञ्जस्थित गौरीगञ्ज बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनले समेत भारतीय विस्तारवादका विरुद्ध प्रदर्शन गरेको जनाइएको छ ।