काठमाडौं/ नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय एकता अभियानबीच एकताबद्ध भएर अघि बढ्ने सैद्धान्तिक समझदारी भएको छ । नेकपा एसका शीर्ष नेता र अभियानका संयोजक वामदेव गौतम सहितका नेताबीच भएको छलफलका क्रममा छिट्टै एकताबद्ध भएर अघि बढ्ने सैद्धान्तिक समझदारी भएको हो ।
बुधबार एकीकृत समाजवादीको केन्द्रीय कार्यालय मीनभवनमा दुवै पक्षका शीर्ष नेताहरूको बैठकपछि भएको समझदारी अनुसार गौतम एकीकृत समाजवादीका वरिष्ठ नेता बन्नेछन् । उनलाई पार्टी अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालपछिको तेस्रो वरीयता प्रदान गरिने सहमति भएको छ ।
हाल एकीकृत समाजवादीमा वरिष्ठ नेताहरूको पङ्क्तिमा डा. बेदुराम भुसाल, घनेन्द्र बस्नेत, र प्रमेश हमाल छन् । गौतमसहित अभियानका अन्य नेताहरूको जिम्मेवारी र व्यवस्थापनबारे थप छलफल हुने बताइएको छ । अभियानका उपाध्यक्ष सात जना, महासचिव, उपमहासचिव, सचिव, र कोषाध्यक्षसहित ८९ केन्द्रीय सदस्यलाई व्यवस्थापन गरिने सहमति भएको छ । समझदारी भएको पुष्टि गर्दै अध्यक्ष गौतमले भने, ‘यो प्रक्रियाले धेरै आशा जगाएको छ । छिट्टै हामी औपचारिक रूपमा एकता घोषणा गर्नेछौँ ।’