दमक/ पूर्व प्रधानमन्त्री एवं प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सोमबार एकाएक प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र झापा ५ को ग्रामिण क्षेत्रमा पुगेका छन् ।
शीर्षस्थ नेताहरु प्रायः एकाअर्काको क्षेत्रमा पुग्दा आम जनमानसमा कौतुहलता बढ्नु र राजनीतिक अडकलबाजी र विचार विमर्शहरु हुनु स्वभाविक हो तर यसपटक प्रचण्डको झापा आगमनलाई राजनीतिक वृत्तमा भने निक्कै अर्थपूर्ण रुपमा हेरिएको छ ।
औपचारिक कार्यक्रमको नाम पार्टीको गौरीगञ्ज गाउँ सम्मेलन तथा भ्रष्टाचार र वेथिती विरुद्धको जनसभा नाम दिइएको भएपनि प्रचण्डको दृष्टि त्यतिमा मात्रै सिमित रहेन । राष्ट्रिय राजनीतिमानै अर्थ र महत्व राख्ने ठुला बिकासे परियोजनाहरु ओलीको निर्वाचन क्षेत्र भित्र पनि दमकमानै केन्द्रित भइरहेका र दमक बाहेकका अन्य पालिकाहरु उपेक्षित भइरहेको गुनासोकाबीच प्रचण्डले उपेक्षित क्षेत्रका बासिन्दासँग भावनात्मक सम्बन्ध बढाउन खोजेको प्रष्ट हुन्छ ।
अध्यक्ष प्रचण्डले ओलीको गृह जिल्ला झापामा दशकौं अघिदेखि नामांकनका बिषयलाई लिएर निर्माण अवरुद्ध रहेको कमल ५ स्थित आदिवासी रंगशालामा पुगेर खुलेरै भने– म यो रंगशालाका बिषयमा जानकार छु । तपाइँहरु डेलिगेशन पनि जानु भएको थियो मैंले बुझेको छु यहाँ तपाइँहरुलाई अन्याय भएको छ । ओलीजीले यो रंगशालामा जाल झेल गर्नु भएको छ ।
प्रचण्डले गाडीबाट ओर्लिने बित्तिकै रंगशालामा टेकेर यसो भनिरहँदा उनको स्वागतार्थ त्यहाँ भेला भएका माओवादी कार्यकर्ताहरु र सरोकारवालाहरु भने भावुक बनेको देखिन्थ्यो । प्रचण्डको रंगशाला आगमनको समयमा नेकपा एमालेका स्थानीय अगुवा नेता, कार्यकर्ताहरु भने राजमार्ग दक्षिणतर्फबाट नियालिरहेका थिए ।
रंगशालामा प्रचण्डलाई आदिवासी रंगशाला स्मृति प्रतिष्ठानका महासचिव दिपेनवाला राई, माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा प्रतिष्ठानका सल्लाहकार रञ्जित तामाङ लगायतले संक्षेपमा जानकारी गराएका थिए ।
त्यसअघि अध्यक्ष प्रचण्ड गौरीगञ्ज गाउँपालिकाको १ नम्बर वडामा पर्ने महाभाराका बस्तीमा पुगे । उनले त्यस क्षेत्रको भाग्य र भविष्य बोकेको हुलाकी राजमार्ग र सो अन्तर्गत १३ बर्षदेखि अलपत्र अवस्थामा रहेको कन्काई नदीको पूलबारे जानकारी लिए । उनले पूल निर्माणमा भइरहेको ढिलासुस्ती र यसले पारेको असरले आफूलाई दुखित बनाएको प्रतिक्रिया दिँदै उच्चस्तरमा यसबारे कुराकानी गरेर कामको गतिलाई अघि बढाउन पहल गर्ने प्रतिबद्धता जनाए । सो क्रममा माओवादी अध्यक्ष प्रचण्डले माओवादीका स्थानीय नेता समेत रहेका तिलक राजवंशीको घरमा बनाइएको खाना आफूसँगै रहेका नेता, कार्यकर्ताहरुसँग भुइँमै बसेर केराको पातमा खाए । केराको पातमा खाना खाने यहाँका आदिवासी समुदायको पुरानो चलन हो ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले ओलीको क्षेत्रमा अलपत्र ठुला योजनाहरुको बारेमा मात्रै नभएर यस भेगमा रहेको गुठीको समस्या र अन्य सीमा क्षेत्रका समस्याहरुबारे पनि जानकारी लिए । उनले औपचारिक रुपमा आयोजित जनसभालाई सम्बोधनका क्रममा पनि एमाले अध्यक्ष एवं प्रधानमन्त्री ओली केन्द्रित टिकाटिप्पणी गरे ।
उनले ओलीको खराब प्रवृत्तिका कारणनै एमाले छोेडेर ठुलो संख्यामा कार्यकर्ताहरु माओवादी केन्द्रमा प्रवेश गरेको भन्दै आफू जनताको हित र सेवामानै केन्द्रित हुने उल्लेख गरे । सो क्रममा अध्यक्ष प्रचण्डले गौरीगञ्ज क्षेत्रका पुराना सामाजिक तथा राजनीतिक व्यक्तित्वहरु विश्वराज रिजाल, कमलेश्वर राजवंशीसहित करिब ६ सय जनालाई माओवादी केन्द्रमा प्रवेश गराएका घोषणा गरिएको थियो ।
आफ्नै क्षेत्रका मतदाताहरु कसैलाई काखा कसैलाई पाखा गरेर ओलीले सरकारी बजेट तथा योजनाहरु पार्ने गरेको भन्दै जनसभाका अन्य वक्ताहरु पनि आलोचनामा केन्द्रित थिए । उनीहरुले दमकमा सपिङ कम्प्लेक्सका नाममा बेकामे भ्यू टावरमा अरबौं बजेट छुट्याउने तर दमकसँगै जोडिएको कमल, गौरादह, गौरीगञ्जलाई सधैं उपेक्षा गर्ने गरेको भनि टिप्पणी गरेका थिए ।
