दमक/ नेकपा माओबादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) आज झापा आउँदैछन् ।
विभिन्न पार्टी परित्याग गरी माओबादी केन्द्रमा प्रवेश गरेका नवप्रवेशीहरुलाई स्वागतसँगै भ्रष्टाचार विरुद्धको प्रदर्शन तथा जनसभालाई सम्बोधन गर्न पहिलो पटक गौरीगञ्ज आउन लागेका हुन् ।
नेकपा माओवादी केन्द्र झापाका संयोजक राजु आचार्य (अग्नी)का अनुसार गौरीगञ्जमा आयोजना हुने सभालाई अध्यक्ष प्रचण्डसहित अन्य शीर्षस्थ नेताहरुले पनि सम्बोधन गर्नेछन् । अध्यक्ष प्रचण्डले झापाको गौरीगञ्जका विभिन्न वडाबाट माओबादीमा प्रवेश गर्ने सातसय बढी नवप्रवेशीहरुलाई स्वागत गर्ने कार्यक्रम रहेको जनाइएको छ ।
पार्टीका प्रदेश कमिटी सचिवालय सदस्य दुर्गा चौलागाई (श्रीकान्त) को नेतृत्वमा पालिका इन्चार्ज, अध्यक्षलगायतको टोलीले पार्टीका नवप्रवेशीहरुको सूची तयार गरेको जनाइएको छ । अध्यक्ष प्रचण्ड आउने कार्यक्रमको व्यवस्थापनमा सयौंका संख्यामा योङ कम्युनिष्ट लिग (वाइसीएल) कार्यकर्ताहरु परिचालन गरिएको वाइसीएल नेपालका केन्द्रय सचिव समेत रहेका युवा नेता डम्बर पुलामी (कर्मा)ले जानकारी दिए ।
शनिबार कञ्चनपुरको पुनर्वासमा आयोजित भ्रष्टाचार र बेथितिविरुद्ध खबरदारी तथा पार्टी एकता समायोजन सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले ओलीको निर्वाचन क्षेत्रबाट हजार जनाभन्दा बढीलाई पार्टीमा प्रवेश गराउने उदघोष गरिसकेका छन् ।
‘देशैभरी माओवादीमा एकताबद्ध हुने, समायोजन हुने लहर चलेको छ । म झापा जाँदै छु । प्रधानमन्त्री केपी ओलीको निर्वाचन क्षेत्रमा त्यहाँ पनि हजारौं प्रवेश गर्ने तयारी छ,’– कञ्चनपुरको पुनर्वासमा आयोजित सभालाई सम्बोधन गर्दै उनले भनेका थिए ।