विर्तामोड/ नेपाली कांग्रेसका केन्द्रीय नेताहरुले दुइतिहाइ बहुमत प्राप्त कम्युनिष्ट सरकारले पार्टीकै संरक्षणमा चरम भ्रष्टाचार गरिरहेको आरोप लगाउँदै जनताको अपेक्षा अनुकुल कार्य गर्न नसकेको आरोप लगाएका छन् ।

नेपाली कांग्रेस झापाको आयोजनामा विर्तामोडमा सम्पन्न जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै कांग्रेस नेताहरुले बालुवाटार जग्गा प्रकरण, सून तस्करी, बाइडवडी, एनसेल, फोरजी सेवालगायतका ठूल–ठूला भ्रष्टाचार काण्डका आरोपीहरुलाई सरकारले नै संरक्षण गरिरहेको आरोप लगाउँदै पार्टीकै संरक्षणमा पैसा कमाएर आगामी चुनाव जित्ने रणनीतिमा नेकपा लागेको आरोप लगाएका हुन् ।
चुनावअघि राष्ट्रियताको नारा जोडतोडका साथ उठाउने प्रधानमन्त्री के.पी. ओली र उनी नेतृत्वको सरकार लिम्पियाधुरा, लिपुलेक, कालापानी लगायत क्षेत्रमा सीमा समस्या देखिदा बालुवाटारमा लम्पसार परेको भन्दै केन्द्रीय नेताहरुले प्रधानमन्त्रीस्तरबाटै कुटनीतिक क्षमता प्रदर्शन गरेर समस्या समाधान गर्न ओली सरकारको ध्यानाकर्षण गराएका छन् ।
नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले नेकपा नेतृत्वको सरकारले राज्यशक्तिको चरम दुरुपयोग गरिरहेको बताउँदै एकथोक बोलेर अर्कै काम गर्नेलाई हितोपदेशले दुरात्मा भनेको चर्चा गर्नुभयो । निर्वाचन अघिको नारा र अहिलेको कार्यशैली हेर्दा कम्युनिष्ट नेतृत्वको सरकार दुरात्माकै बाटोमा हिडिरहेको उहाँको आरोप थियो ।
‘जनताले सडक, पर्यटन, ऊर्जाको विकास, नदीको तटबन्ध, रोजगारीजस्ता अवसर खोजेका छन्’–नेता पौडेलले भन्नुभयो–‘सरकार पानीजहाज, रेल, २ अर्व लगानीमा भ्यूटावर निर्माण आदिको शपनामा अल्मलिएको छ ।’
एक फरक प्रसङ्गमा बोल्दै राजनीतिमा गुुटउपगुट स्वभाविक हुने तर गुटबन्दीको ब्यवस्थापन नेतृत्वले गर्नुपर्ने सुझाव दिदै उहाँले गुटबन्दी गर्ने नेताको मूल्याङ्कन कार्यकर्ताले गरेमा पार्टी्भित्र अनुशासन सुध्रने भनाई राख्नुभयो
नेपाली कांग्रेस केन्द्रीय सदस्य डा. शेखर कोइरालाले प्रधानमन्त्री आफैले गणतन्त्र, संवैधानिक सर्वोच्चता, प्रेस स्वतन्त्रता स्वीकार नगरेको आरोप लगाउँदै नियन्त्रित लोकतन्त्रान्त्रिक शासन ब्यवस्थाका लागि संविधान विपरित ऐन/कानून बनाइरहेको धारणा राख्नुभयो ।
‘चीनमा प्रजातन्त्र छैन, अप्रजातान्त्रिक मुलुकको कानून सिकाउन सरकारका प्रतिनिधि तथा पार्टी प्रतिनिधिलाई चीन पठाउने खतरनाक सम्झौता सरकारले गरेको छ’–उहाँले भन्नुभयो–‘कुनै पनि मुलुकका कम्युनिष्ट शासकले लोकतन्त्र र संघीय शासन चाहँदैनन् ।’ खर्चमा मितब्ययिता नअपनाए संघीयता खतरामा पर्ने उहाँको भनाई थियो ।
भातृ संस्था र पार्टीको महाधिवेशनपश्चात मात्रै कांग्रेस ट्र्याकमा आउने दावी गर्दै उहाँले भातृ संस्थाहरुको निर्धा्रित समयमा अधिवेशन र संस्थालाई चलायमान बनाउन पार्टी नेतृत्वको ध्यानाकर्षण पनि गराउनुभयो ।
कार्यक्रममा अर्का बक्ता धनराज गुरुङले भारतको मिचाहा प्रवृत्तिका विरुद्ध सारा नेपाली एकजुट हुनुपर्ने आवश्यकता औंल्याउँदै एकचिम्टि माटो र राष्ट्रियताको संरक्षणका लागि गोली खान तयार रहेको उद्घोष गर्नुभयो । ओली सरकार भारतसँग लम्पसार परिसकेको टिप्पणी गर्दै उहाले भन्नुभयो–‘निर्वाचन अघि के.पी. ओलीको नाकमा रहेको राष्ट्रियताको नारा पित्तलमाथि सूनको जलप रहेछ, त्यो जलप अहिले पित्तलमा परिणत भइसकेको छ ।’
प्रधानमन्त्रीले बारम्बार गणतन्त्र खतरामा रहेको भन्दै दिएको अभिब्यक्तिप्रति संकेत गर्दै उहाँले प्रश्न गर्नुभयो–‘गरीबले उपचार नपाएर, छोराछोरी पाल्न नसकेर आत्महत्या गर्ने अवस्थामा पुगेका बेला तीनै गरिब जनताबाट उठाएको करले राष्ट्रपतिलाई हेलिकप्टर किन्दा कसरी गणतन्त्र खतरामा पर्दैन प्रधानमन्त्री ज्यू ?’
अर्का केन्द्रीय सदस्य तथा राष्ट्रियसभाका प्रमुख सचेतक सरिता प्रसाईले कांग्रेसमाथि धावा बोल्ने सत्ताधारीहरु पाखा लागेको इतिहास बताउँदै नेकपा नेतृत्वलाई होसियार रहन चेतावनी दिनुभयो । नेपाली कांग्रेस विचार, सिद्धान्त र इतिहास बोकेको पार्टी भएको चर्चा गर्दै उहाँले एकजुट भए कसैले हराउन नसक्ने दावी गर्नुभयो ।
कांग्रेस केन्द्रीय सदस्य बद्री पाण्डेले लोकतान्त्रिक विधि र संविधान मिचेर अलोकतान्त्रिक शासन गर्ने रणनीतिमा बर्तमान सरकार लागेको आरोप लगाउँदै सरकार र नेकपाप्रति जनताको मोहभंग भइसकेको धारणा राख्नुभयो । सरकारका कामकारबाहीप्रति निराश बनेका जनताको मनोभावनाको संवोधन कांग्रेसले गर्नसके स्वतः पार्टीप्रति जनमत बढ्ने उहाँको भनाई थियो ।
कार्यक्रममा सांसद महेन्द्राकुमारी सुब्बा, नेपाली कांग्रेस झापाका पूर्व सभापति तथा संविधानसभा सदस्य सुधिरकुमार शिवाकोटी, ओखलढुङ्गा सभापति प्रदीप सुनुवार प्रदेश नं–१ का संसदीय दलका प्रमुख सचेतक केदार कार्की, युवा नेता रामहरी खतिवडा लगायतले कांग्रेसभित्रका गुटउपगुट समाप्त पारेर नीति, कार्यशैली र क्रियाशिलताका आधारमा कार्यकर्तालाई अवसर दिन आग्रह गरेका थिए ।
नेपाली कांग्रेस झापाका सभापति उद्वव थापाको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत उपसभापति राम कट्टेलले र सञ्चालन ताराविर कटुवालले गर्नुभएको थियो ।

 

Facebook Comments Box