दमक/ कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सबै किसिमका अराजकताहरुका विरुद्ध सरकार कठोर भएर अघि बढ्ने उदघोष गरेका छन् ।
अराजकता र राजनीतिक अस्थिरतालाई उपयोग गरे नेपाली जनताको बिकास र समृद्धिको चाहनामा अवरोध पुरयाउने नयाँ, पुराना जुनसुकै पार्टीका नेता, कार्यकर्ताहरुलाई पनि कानुनी कठघरामा ल्याउने सरकारको उद्धेश्य रहेको मुख्यमन्त्री कार्कीको भनाई छ ।
नेकपा एमाले दमक नगर कमिटीले आज पर्यटकीयस्थल इलामको चुलाचुलीस्थित चपेटीमा आयोजना गरेको वनभोजसहित बाल प्रतिभाहरुको सम्मान कार्यक्रमलाई प्रमुख अतिथीका रुपमा सम्बोधन गर्दै नेकपा एमालेका स्थायी कमिटी सदस्य समेत रहेका मुख्यमन्त्री कार्कीले त्यस्तो बताएका हुन् ।
मुख्यमन्त्री कार्कीले भने– सहकारीमा जम्मा गरेको सर्वसाधारणको करोडौं अरबौं रकम अपचलन गर्ने, आफ्नै बैंक खातामा कहाँबाट पैसा आयो भन्ने थाह नपाए झैं गर्ने, आफैंले काटेको चेक मलाई थाह छैन भन्ने जस्ता गैह्रजिम्मेवारी पूर्ण जवाफ दिने सम्मका हर्कतहरु अराजक प्रवृत्तिहरु हुन् ।
कुनै पनि बहानामा ठगी र अपराध गर्नेहरु कानुनी दायरा बाहिर हुन नसक्ने भन्दै मुख्यमन्त्री कार्कीले कुनै पनि दल विशेषको नेता हुँदैमा कानुनी कारवाहीबाट मुक्ति हुनुपर्छ भन्ने तर्क गर्नेहरुले सामाजिक सञ्जालमा अराजकता मच्चाइरहेको उल्लेख गरे ।
झण्डै ७० प्रतिशत जनमतसहितका कांग्रेस–एमालेको सत्ता सहकार्यबाट मुलुक अघि बढिरहेको र यसले सरकारको स्थिरता र जनताको बिकास र समृद्धिको चाहनालाई अघि बढाइरहेको मुख्यमन्त्री कार्कीको तर्क छ ।
कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सदस्यद्धय दिपक कार्की र इन्द्र भण्डारीले जब जब एमाले नेतृत्वको सरकार बन्छ तब तब विभिन्न उच्छृखंल र अराजक समुहहरु सरकारको लोकप्रियता विरुद्ध सामाजिक सञ्जालदेखि सडक सम्म विभिन्न आरोप र लाञ्छनाहरु लगाउँदै उफ्रिने गरेको टिप्पणी गरे । उनीहरुले बिकास र समृद्धिको चाहनालाई एमालेको नेतृत्वले मात्रै अघि बढाइरहेको भन्दै अवरोध गर्ने शक्तिहरुलाई सिंगो एमाले र बिकासका पक्षधरहरुले प्रतिवाद गर्नुपर्ने पनि उल्लेख गरे ।
नेकपा एमाले दमक नगर कमिटीका अध्यक्ष राम पौडेलको अध्यक्षतामा सञ्चालन भएको सो कार्यक्रममा गत तिहारमा पार्टीको नगर कमिटीद्धारा सञ्चालित देउसी भैलोमा सहभागी सवा सय भन्दा बढी बाल प्रतिभाहरु ( नृत्य गर्ने समुह)लाई मुख्यमन्त्री कार्कीसहित अतिथीहरुले सम्मान गरेका थिए ।


कार्यक्रममा एमाले झापा क्षेत्र नं ५ (ख) का प्रदेश सभा क्षेत्र इञ्चार्ज अम्बिका खनालले नगर कमिटीद्धारा सञ्चालित साँस्कृतिक देउसी भैलोले एमालेलाई आफनो विगतको स्मरणलाई पुनर्ताजगी गराएको भन्दै प्रशंसा गरे ।
सो अवसरमा नेकपा एमालेका जिल्ला कमिटी अध्यक्ष प्रेम गिरी, सचिव तुलसी कार्की, प्रदेश कमिटी सदस्यहरु सुशिल राई, राजकुमार थापा, घनेन्द्र सुब्बा, अनेमसंघ झापाकी सचिव लिला ढुंगेल (दाहाल) लगायतको आतिथ्य रहेको थियो ।एमाले दमक नगर कमिटी उपाध्यक्ष उर्मिला ओलीले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन नगर सचिव गिरेन्द्र चम्लागाइँले गरेका थिए ।

Facebook Comments Box