दमक/ इलामको चुलाचुली गाउँपालिकाले आउँदो एसईई परीक्षाको पूर्व तयारी स्वरुप कक्षा १० का बिद्यार्थीहरुलाई गत पुष १ गतेदेखि एसईई पूर्व तयारी कक्षा सञ्चालन गरेको छ ।
गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले पालिका भित्रको शैक्षिक गुणस्तर सुधारका लागि बिद्यार्थीहरुलाई बिद्यालय समय बाहेकको समयमा पनि सबै बिषयको निशुल्क कोचिङ कक्षा सञ्चालन भइरहेको जनाएको हो ।
गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङले सबै बिद्यार्थीहरुलाई समान अवसर प्रदान गर्ने नीति अनुरुप आगामी एसईइ परीक्षाको नतिजाको सुधारका लागि चालू शैक्षिक सत्रमा निशुल्क कोचिङ कक्षाको व्यवस्था गरिएको जानकारी दिए ।
भौगोलिक र बिकासका पूर्वाधारका हिसाबले बिकट मानिने यो गाउँपालिका भित्रका सबै वडामा सञ्चालित माध्यमिक तहका बिद्यालयहरुमा बिद्यालय र गाउँपालिकासँगको साझेदारीमा बिद्यार्थीहरुको लागि निशुल्क कोचिङ कक्षा सञ्चालन गरिएकाले यसबाट एसइइ परीक्षाको नतिजामा थप सुधार ल्याउन सक्ने विश्वास गरिएको अध्यक्ष केरुङको भनाई छ ।
चुलाचुली गाउँपालिका भित्रका कूल ८ वटा सामुदायिक बिद्यालयहरुले एसईई परीक्षामा सहभागिता जनाउँदै आएका छन् ।
८ वटा मध्ये कक्षा ११ र १२ को समेत पठनपाठन गराउँदै आएका जनता मावि र फुङनाम माविमा आवासीय सुबिधा समेत छ भने जनता माविका बिद्यार्थीका लागि यातायातको सुविधा समेत छ ।
गाउँपालिकामा २०७९ को स्थानीय तह निर्वाचनबाट नयाँ जनप्रतिनिधि चुनिएर आएसँगै अध्यक्ष केरुङको चासो र सक्रियतामा जनता माविले स्कूल बस पाएको थियो ।
सो को व्यवस्थापन भने बिद्यालय आफैंले गरिआएको पालिकाका शिक्षा शाखा प्रमुख शिक्षा अधिकृत राम मिश्रले जानकारी दिए । यही नतिजामा मात्रै सन्तोष हुने कुरा हुँदैन आगामी दिनमा अझै राम्रो नतिजा ल्याउन र गुणस्तर बढाउन पालिकाबाट प्रभावकारी किसिमका कार्यक्रमहरु सञ्चालनमा ल्याइएको छ– शिक्षा शाखा प्रमुख मिश्रले भने ।
२०८० को एसईई नतिजामा चुलाचुली गाउँपालिका भित्रका बिद्यालयको नतिजा जिल्लामा दोश्रो रहेको थियो भने सामुदायिक बिद्यालयहरु मध्ये सबैभन्दा राम्रो नतिजा ल्याउने पालिकामा चुलाचुली पहिलो भएको थियो ।