कास्की/ प्रतिनिधि सभा (संघीय संसद ) सदस्य रवि लामिछाने सांसदबाट निलम्बित भएका छन् ।
लामिछाने विरुद्ध कास्की जिल्ला अदालतमा सम्पत्ति शुद्धीकरणमा आइतबार मुद्दा दायर गरिएसँगै उनको सांसद पद निलम्बन भएको हो ।
आइतबार साँझ जिल्ला प्रहरी कार्यालय काँस्कीले लामिछानेविरुद्ध सम्पत्ति शुद्धीकरणमा अभियोगपत्र दर्ता भएको जानकारीसहितको पत्र सभामुख देवराज घिमिरेलाई पठाएको जनाइएको छ । सम्पत्ति शुद्धीकरण ऐन, २०६४ को दफा २७ बमोजिम मुद्दा अदालतमा दर्ता भएपछि पद स्वतः निलम्बन हुने कानुनी व्यवस्था अनुसार लामिछानेको सांसद पद गुमेको हो ।
सो अनुसार संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले सूचना पत्र जारी गर्दै रवि लामिछाने निलम्बनमा परेको जानकारी दिएका हुन् । ‘प्रचलित कानूनबमोजिम स्थापित संगठित संस्थाको कुनै पदाधिकारी वा कर्मचारी वा कुनै राष्ट्रसेवक यस ऐनबमोजिम थुनामा रहेकोमा त्यसरी थुनामा रहेको अवधिभर र निज उपर दफा २२ बमोजिम मुद्दा दायर भएकोमा सो मुद्दाको किनारा नभएसम्म त्यस्तो कर्मचारी, पदाधिकारी वा राष्ट्र सेवक स्वतः निलम्बन भएको मानिनेछ ।’ –ऐनमा भनिएको छ ।
प्रतिनिधि सभा बैठक नचलिरहेको अवस्थामा संसद सचिवालयले सूचना पाटीमा सूचना टाँसेर जानकारी दिएको हो । रवि लामिछाने चितवन निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य हुन् । उनी रास्वपा संसदीय दलको नेतासमेत हुन् ।
यसअघि उनी दोहोरो नागरिकतामा परेसँगै सांसद पदसँगै उपप्रधान तथा गृहमन्त्रीको पद गुमाएर फेरि चुनाव जितेर सांसद भएका थिए ।
यसपालि उनी गत कार्तिक २ गते सहकारी प्रकरणमा पक्राउ परेका थिए भने आइतबार लामो समयको अनुसन्धानपछि उनीमाथि सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा पनि थपिएको छ ।