दमक/ झापाको दमक नगरपालिकाले वडा वडामा अपाङगता भएकाहरुको निशुल्क स्वास्थ्य जाँच तथा परिचय पत्र वितरण शिविर सञ्चालन गरेको छ ।
दमकको १ नम्बर वडाबाट एक साता अघिदेखि शुरु भएको शिविर दोश्रो दिन वडा नं १० मा शिविर सञ्चालन गरियो ।
त्यसैगरी वडा नं ३, वडा नं ४ , ५ , ६ र ७ मा समेत यो शिविर सञ्चालन गरिएको छ । वडा नं ३ को आमचोकस्थित नगर स्वास्थ्य केन्द्रमा शिविर सञ्चालन गरिएको थियो भने वडा नं ५ स्थित ज्येष्ठ नागरिक सम्मान प्रतिष्ठानको कार्यालय परिसरमा शिविर सञ्चालन गरिएको थियो । वडा नं ४ मा सञ्चालित शिविरमा ८४ जनाले सेवा लिएका छन् । आइतबार वडा नम्बर ७ को वडा कार्यालय परिसर पशुहाट क्षेत्रमा शिविर सञ्चालन गरिएको वडा सचिव योगेश भट्टराईले जानकारी दिए ।
दमक नगरपालिकाले करुणा फाउण्डेशनसँगको सहकार्यमा सञ्चालन गरिएको शिविरलाई अन्य वडाहरुमा समेत क्रमशः सञ्चालन गर्दै अपाङगता भएका नागरिकहरुलाई सेवा दिइने नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराई (प्रसाइँ)ले जानकारी दिइन् ।
स्थानीय सरकारले अपाङगता भएकाहरुको पहिचान गरी स्थलगत रुपमा उनीहरुको वर्गीकरण गर्ने , आवश्यक उपचार तथा सहायता सामग्रीहरु वितरण गर्ने र राज्यले तोकेको मापदण्डका आधारमा परिचय पत्र वितरण गर्ने काम भइरहेको बताइन् । यसले अपाङगता भएकाहरुको छनोट र वर्गीकरणमा पारदर्शीताका लागि समेत सहयोग पुगेको उपप्रमुख भट्टराईले बताइन् ।

उनले शारिरीक रुपमा अपाङगता र अशक्ततता भएका नागरिकहरुको लागि विशेष सुरक्षा र सहुलियत सुविधाका कार्यक्रमहरु पनि ल्याइएको बताएकी छिन् ।
दमक १० का वडाध्यक्ष राजेन्द्र भण्डारीले वडास्थित नगर स्वास्थ्य केन्द्रमा सञ्चालन गरिएको शिविरमा बिषय विज्ञ चिकित्सकहरुले अपाङगता भएकाहरुको आँखा, कान ,आदिको परिक्षण तथा ल्याब सेवा समेत प्रदान गरेका कारण शिविरबाट अपाङगता भएकाहरुको पहिचानसँगै स्वास्थ्य परिक्षण र सहायता सामग्री पनि उपलब्ध गराइएको बताए ।
शिविरमा लक्षित वर्ग समुदायलाई अधिकतम फाइदा लिएको बताउँदै वडाध्यक्ष भण्डारीले समय समयमा तालिका बनाएरनै यस किसिमको शिविर सञ्चालन गरिनु आवश्यक भएको बताए । वडाभित्र अपाङगता भएकाहरुले उद्यम व्यवसाय सञ्चालन गर्न चाहेमा विभिन्न छुट सुविधाहरु समेत ल्याइएको वडाध्यक्ष भण्डारीको भनाई छ ।
त्यस किसिमको शिविरमा प्रत्येक वडाका नागरिकले सेवा लिएका नगरपालिकाकी महिला बालबालिका शाखा प्रमुख सरिता भण्डारीले जानकारी दिइन् ।
शिविरमा विभिन्न कारणबाट उपस्थित हुन नसकी सेवा लिन छुटेका ब्यक्तिहरुले पौष १५ गते पछि दमक नगरपालिकाको महिला बालबालिका तथा जेष्ठ नागरिक शाखामा सम्पर्क गरेर परिचय पत्र लिन सक्ने व्यवस्था मिलाइएको नगरपालिकाले जनाएको छ ।