दमक/ दमक बसपार्क नजिकैको एक होटल तथा लजमा दुई युवतीसँग लजमा बसेका सिन्धुलीका एक युवक मृत फेला परेका छन् ।
बुधबार साँझ प्रिती भनिने गोमाकुमारी तामाङ र अर्की एक युवतीसँग दमक ६ बसपार्क नजिकैैको मिलन होटल तथा लजको भुइँ तलामा बसेका सिन्धुली दुधौली नगरपालिका वडा नं १० का ३३ बर्षिय इन्द्रबहादुर सुनुवार बिहिबार बिहान मृत फेला परेका हुन् ।
प्रहरीले प्रारम्भिक अनुसन्धानका क्रममा युवतीसँग बसेकी भनिएका दुवै युवती र होटल सञ्चालिका निर्मला भारतीलाई नियन्त्रणमा लिएको छ ।
उनीहरुलाई इलाका प्रहरी कार्यालय दमकको टोलीले घट्नास्थलबाट आज बिहान करिब ८ बजे नियन्त्रणमा लिएको हो ।
प्रहरी नियन्त्रणमा लिइएका युवतीहरुले घट्नास्थलमा प्रहरीलाई बताए अनुसार उनीहरु तीन जनाको समुहले सो लजका अलग अलग दुई वटा कोठा भाडामा लिएर रात बसेका थिए । सुनुवार झुल टाँगिएको ओछ्यानमा सिरानीमाथि टाउको अड्याएर , निधारमाथि एक हात राखेको अवस्थामा मृत भेटिएका हुन् ।
दमक ७ का वडाध्यक्ष भिम पौडेलले होटल तथा लज सञ्चालन सम्बन्धिका न्यूनतम मापदण्डहरु पुरा नगरी लापरवाही ढंगबाट व्यवसाय सञ्चालन भएका कारण यस किसिमका आपराधिक घटना र सामाजिक विकृतीहरु बढिरहेको बताए ।
जिल्ला प्रहरी कार्यालय झापाले भने मोरङ मिक्लाजुङ गाँउपालिका वडा न. २ मधुमल्लाकी २७ बर्षिया प्रिति भन्ने गोमा कुमारी तामाङ र सिन्धुली दुधौली नगरपालिका वडा न. १० का ३३ बर्षिय सुनुवार समेत २ जनाले घट्नाको अघिल्लो साँझ बुधबार करिब ६ बजे खाना खाएर सँगै बसेका बिहिबार बिहान साढे ६ बजे ईन्द्र बहादुर सुनुवार सुतेकै स्थानमा मृत्त फेला परेको विवरण पत्रकारहरुलाई उपलब्ध गराएको छ ।
प्रहरीले होटल सञ्चालकले इलाका प्रहरी कार्यालय दमकमा बिहिबार बिहान ७.४५ बजे जानकारी गराएको र सो सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाएको छ ।