दमक/ झापाको दमक नगरपालिकाका वडा वडामा अपाङगता भएकाहरुको निशुल्क स्वास्थ्य जाँच तथा परिचय पत्र वितरण शिविर सञ्चालन गरिएको छ ।
दमकको १ नम्बर वडाबाट सोमबारदेखि शुरु भएको शिविरको दोश्रो दिन वडा नं १० मा शिविर सञ्चालन गरिएको हो ।
दमक नगरपालिकाले करुणा फाउण्डेशनसँगको सहकार्यमा सञ्चालन गरिएको शिविरको दोश्रो दिन वडा नम्बर १० स्थित नगर स्वास्थ्य केन्द्रमा उदघाटन गर्दै नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराई (प्रसाइँ)ले स्थानीय सरकारले अपाङगता भएकाहरुको पहिचान गरी स्थलगत रुपमा उनीहरुको वर्गीकरण गर्ने , आवश्यक उपचार तथा सहायता सामग्रीहरु वितरण गर्ने र राज्यले तोकेको मापदण्डका आधारमा परिचय पत्र वितरण गर्ने काम भइरहेको बताइन् । उनले शारिरीक रुपमा अपाङगता र अशक्ततता भएका नागरिकहरुको लागि विशेष सुरक्षा र सहुलियत सुविधाका कार्यक्रमहरु पनि ल्याइएको जानकारी दिइन् ।

दमक १० का वडाध्यक्ष राजेन्द्र भण्डारीको अध्यक्षतामा भएको शिविर उदघाटन कार्यक्रममा चिकित्सकहरुले अपाङगता भएकाहरुको आँखा, कान ,आदिको परिक्षण तथा ल्याब सेवा समेत प्रदान गरिएको छ ।
शिविरमा लक्षित वर्ग समुदायलाई अधिकतम फाइदा लिन आग्रह गर्दै वडाध्यक्ष भण्डारीले वडाभित्र अपाङगता भएकाहरुले उद्यम व्यवसाय सञ्चालन गर्न चाहेमा विभिन्न छुट सुविधाहरु समेत ल्याइएको बताए ।
सो कार्यक्रमको सञ्चालन दमक १० की वडा सदस्य भुमिका आचार्यले गरेकी थिइन् । त्यस किसिमको शिविरबाट वडा नम्बर १ मा ९८ जनाले प्रत्यक्ष सेवा लिएका नगरपालिकाकी महिला बालबालिका शाखा प्रमुख सरिता भण्डारीले जानकारी दिइन् । दुर्गा मन्दिर प्राङगणमा सञ्चालित सो शिविरमा ३३ जनालाई अपाङगता सम्बन्धिको परिचय पत्र वितरण गरिएको शाखा प्रमुख भण्डारीले बताइन् ।