दमक/  निजी तथा आवासीय बिद्यालयहरुको संगठन प्याव्सनको दमक नगरले आयोजना गरेको प्रतियोगितात्मक अतिरिक्त क्रियाकलापमा विभिन्न विधामा १४ वटासहित कूल १७ वटा पदक जित्न सफल मेची सेकेण्ड्री बोर्डिङ स्कूलले बिद्यार्थीहरुलाई औपचारिक कार्यक्रम गर्दै पुरस्कारसहित बधाई ज्ञापन गरेको छ ।
बिद्यालयले आज आयोजना गरेको संक्षिप्त कार्यक्रममा भलिबल, नृत्यसहित विभिन्न बिधामा उत्कृष्टता हासिल गर्ने ५१ जना बिद्यार्थीहरुलाई प्रोत्साहन स्वरुप पुरस्कृत गर्दै बधाई ज्ञापन गरेको हो ।
सो अवसरमा बिद्यालय सञ्चालक समितिका अध्यक्ष शेरबहादुर भट्टराईले बिद्यार्थीहरुले नगरमा उत्कृष्टता हासिल गर्दै अतिरिक्त कृयाकलापहरुमा समेत आफूलाई अब्बल साबित गराउँदा गौरान्वित महसुस भएको उल्लेख गरे । उनले बिद्यालय शिक्षक, कर्मचारी र मेहनती बिद्यार्थीहरुको परिश्रम र मेहनतबाट यो सफलता मिलेको भन्दै प्रशंसा व्यक्त गरे ।
बिद्यालयका प्रिन्सिपल श्रवणकुमार पोखरेलले बिद्यालयले नियमित अध्ययन अध्यापनसँगै बिद्यार्थीहरुमा अतिरिक्त ज्ञान र प्रतिभाको बिकासका लागि निरन्तर गर्दै आएको प्रयासमा यसपटक मिलेको सफलताले उत्साहित बनाएको बताए । उनले बिद्यार्थीहरुमा यस किसिमको प्रतिभा बिकासका लागि निरन्तरता दिइने पनि प्रतिबद्धता जनाए ।
बिद्यालयका संस्थापक अध्यक्ष भट्टराईको सभापतित्वमा भएको कार्यक्रममा संस्थापक प्रिन्सिपल ख्यामलाल पोखरेल, सञ्चालकहरु सुमित्रा प्रसाइँ, बिदुर खतिवडा, सञ्जिब बराल लगायतले बिद्यार्थीहरुलाई पुरस्कृत गर्नुका साथै अविर लगाएर बधाई ज्ञापन गर्दै निरन्तर सफलताको शुभकामना व्यक्त गरे । कार्यक्रमको सञ्चालक शिक्षकद्धय होम प्रसाद खतिवडा र दिपक खड्काले गरेका थिए ।

 

Facebook Comments Box