दमक/ दमक नगरपालिकामा सञ्चालित अन्तराष्ट्रिय लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान अन्तर्गतका औपचारिक कार्यक्रमहरुको समापन गरिएको छ ।
दमक नगरपालिकाले यहाँ क्रियाशील विभिन्न सामाजिक, व्यवसायिक तथा अधिकारवादी संघ संस्थाहरुसँगको समन्वयमा गएको १० मसिंरदेखि शुरु गरेको अभियान अन्तर्गतका कार्यक्रमहरुको सोमबार औपचारिक कार्यक्रम गरि समापन गरिएको हो ।
दमक नगरपालिका महिला बालबालिका शाखाले आयोजना गरेको समापन कार्यक्रममा सो अभियान अन्तर्गत विभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने दर्जन बढी संघ संस्थाहरु र अधिकारवादी अभियान्ताहरुलाई सम्मान गरिएको थियो ।
सो अवसरमा संविधान सभा सदस्य समेत रहेकी महिला नेतृ महेन्द्रकुमारी लिम्बुको प्रमुख आतिथ्य रहेको थियो ।
कार्यक्रममा दमक नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गणेशराज कार्कीले लैंगिक समावेशीता अन्तर्गत दमक नगरले लिएको नीति, सञ्चालित कार्यक्रमहरु र बजेट आदिका बारेमा तथ्याङक प्रस्तुत गरेका थिए भने नगरपालिकाको बिकास साझेदार संस्था द एशिया फाउण्डेशनका श्याम सापकोटाले राजनीतिमा महिला सहभागिता बिषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।
सो अवसरमा प्रमुख अतिथी लिम्बुले महिला नेतृत्वले महिलाहरुमा आत्मविश्वासको वातावरण सिर्जना हुने बताइन् ।
नीति निर्माणको तहमा महिलाहरुको पहुँच बढाउन र सबै किसिमका हिंसाको अन्त्य गरिनुपर्नेमा कार्यक्रमका वक्ताहरुले जोड दिएका थिए ।
सो अवसरमा दमक नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराई प्रसाइँले लैंगिक समानता र समावेशीताले महिलाहरुको अधिकार सुरक्षित गर्न मद्धत पुग्ने बताइन् । उपप्रमुख भट्टराईले आर्थिक रुपमा महिलाहरुलाई आत्मनिर्भर बनाउन सकिए मात्रै हरेक क्षेत्रमा उनीहरुको सहभागिता सुनिश्चितताका लागि वातावरण बन्ने चर्चा गरिन् ।
उनले सिमित स्रोत साधनका बाबजुद स्थानीय सरकारले महिलाहरुको सवलिकरण र आय उद्यमशीलताको बिकासका लागि काम गरिरहेको पनि उल्लेख गरिन् ।
नगरपालिकाकी सामाजिक बिकास समिति संयोजक शारदा सापकोटाको अध्यक्षतामा सञ्चालित सो कार्यक्रममा संयोजक सापकोटाले १६ दिने अभियान अन्तर्गत विभिन्न संघ संस्थाहरुले सञ्चालन गरेका कामहरुका बारेमा जानकारी गराएकी थिइन् ।

कार्यक्रममा प्राध्यापक एवं अधिकारवादी नेतृ राधिका ओझाले समाजमा महिलाहरुमाथि कुनै न कुनै रुपमा सधैं हिंसा हुने गरेको बताउँदै हिंसाको अन्त्यका लागि सबैभन्दा पहिला महिलाहरु आफैं मानसिक रुपमा हिंसा विरुद्ध लड्न तयार हुनुपर्ने बताइन् । हिंसा सहने बानीले समाजमा थप महिलाहरु हिंसामा पर्ने भएकाले हिंसा विरुद्ध लड्ने, हिंसा नगर्ने, हिंसा हुन नदिने जस्ता प्रतिबद्धता हुनुपर्ने सुझाइन् । उनले राज्य आफैं दर्बिलो रुपमा प्रस्तुत भएर हिंसा गर्नेहरुका विरुद्ध काम गर्न तयार हुनुपर्ने बताइन् ।
कार्यक्रममा नारी सशक्तिकरण समाजकी अध्यक्ष एवं महिला नेतृ लता चापागाइँले समाजमा व्याप्त हिंसाका घट्नाहरु निरुत्साहित गर्न सामाजिक चेतनाको बिकासमा जोड दिइन् । अधिकारकर्मी प्राज्ञ सुमित्रा वाङदेल चेलीले हिंसा कसैले कसैमाथि पनि गर्न नहुने र त्यसका लागि सामाजिक चेतनामा लाग्नुपर्ने बताइन् ।
कार्यक्रमको सञ्चालन महिला बालबालिका शाखा प्रमुख सरिता भण्डारीले गरेकी थिइन् ।