दमक/ निजी तथा आवासीय विद्यालयहरुको संगठन (प्याब्सन ) दमक नगर नेतृत्वले दुई दिवसीय नगरस्तरीय साँस्कृतिक कार्यक्रम शुरु गरेको छ । दमक ७ स्थित पशुहाट क्षेत्रमा सोमबार सो साँस्कृतिक कार्यक्रमको कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार राईले उदघाटन गरेका छन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले निजी बिद्यालयहरुले शिक्षा क्षेत्रमा दिएको योगदानको प्रशंसा गरे । उनले समग्र शैक्षिक बिकासका लागि सरकार निजी क्षेत्रसँग समेत सहकार्य गरेर अघि बढ्न तयार रहेको उल्लेख गरे ।
प्याव्सन दमक नगर समितिका अध्यक्ष नविन योगीको सभापतित्वमा शुरु भएको सो कार्यक्रमको उदघाटनका अवसरमा विभिन्न क्षेत्रबाट शैक्षिक उन्नयनका लागि योगदान दिने तीन जनालाई सम्मान गरिएको छ ।


पत्रकारिता क्षेत्रबाट शिक्षाको बिकासमा योगदान दिएको भन्दै पत्रकार बिष्णुप्रसाद पोखरेल, जनप्रतिनिधिहरु तर्फ दमक नगरपालिका वडा नं. ७ का वडाध्यक्ष भीम पौडेल र लिटल स्कोलर बिद्यालयका प्रेम ओझालाई सम्मान गरेको हो ।
सम्मानित हुने पत्रकार पोखरेल दुई दशकदेखि निरन्तर पत्रकारितामा क्रियाशील छन् । गोरखापत्र दैनिकका झापा संवाददाता पोखरेल प्रभावकारी मिडिया प्रालिका सञ्चालन समेत हुन् । त्यस्तै सम्मानित हुने वडाध्यक्ष पौडेल दमकको साविक वडा नं १२ हालको ७ नम्बर वडाबाट वडाध्यक्ष पदको जितमा ह्याट्रिक गरेका जनप्रतिनिधि हुन् । उनी २०५४, २०७४ र २०७९ को निर्वाचनमा लोकप्रिय मतसहित वडाध्यक्ष बनेका हुन् । हाल दमक नगरको पूर्वाधार बिकास समिति संयोजक समेत रहेका वडाध्यक्ष पौडेललाई दमक नगरको शैक्षिक बिकासमा जनप्रतिनिधिहरुका तर्फबाट सकारात्मक भुमिका निर्वाह गरेको भन्दै सो सम्मान गरिएको हो ।
उनीहरुलाई कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सम्मान प्रदान गरेका हुन् ।
कार्यक्रममा स्वागत मन्तब्य प्याव्सन दमक नगर उपाध्यक्ष मित्र खत्रीले राखेका थिए भने प्याव्सन तथा शैक्षिक सरोकारवालाहरुको विशेष आतिथ्य रहेको थियो । सोमबार र मंगलवार २ दिनसम्म सञ्चालन हुने प्रतियोगितात्मक सांस्कृतिक कार्यक्रममा दमकमा सञ्चालित बिद्यालयका बिद्यार्थीहरुबीच गीत, नृत्य आदि प्रस्तुत गर्ने प्याव्सन दमक नगर सचिव लक्ष्मी नेपालले जानकारी दिए ।

 

Facebook Comments Box