दमक/ जेसीजहरुका लागि विशेष महत्वको बार्षिक कार्यक्रम जेसीज सप्ताह अन्तर्गत दमक जेसीज बर्ष २०२४ को नेतृत्वले विभिन्न रचनात्मक कार्यक्रमहरु सञ्चालन गरेको छ । यसैसाता शुरु भएको जेसीज सप्ताहको आइतबार (आज) औपचारिक समापन गरिएको छ ।
दमक उद्योग वाणिज्य संघको सभाकक्षमा लैगिंक हिंसा विरुद्धको अभिमुखिकरण तालिमसँगै जेसीज सप्ताहको औपचारिक समापन गरिएको हो ।
दमक नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराई (प्रसाइँ)को प्रमुख आतिथ्य भएको सो समापन कार्यक्रममा बोल्दै उपप्रमुख भट्टराईले जेसीजले समुदायलाई उत्तरदायी बनाउन भुमिका खेल्नुपर्नेमा जोड दिइन् । उनले जेसीजले साता व्यापीरुपमा सञ्चालन गरेका कार्यक्रमहरु मार्फत नव पुस्ताका युवाहरुलाई सकारात्मक सोचका साथ अघि बढ्न प्रेरित गरेको पनि बताइन् । जेसीजले सञ्चालन गरेका सामाजिक कार्यक्रमहरुको उनले प्रशंसा गरिन् ।
समापनका अवसरमा सप्ताह अन्तर्गत विभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने संयोजकहरु त्था सक्रिय भुमिका निर्वाह गर्ने व्यक्तित्वहरुलाई मायाको चिनो प्रदान गरिएको छ ।
दमक जेसीज बर्ष २०२४ का अध्यक्ष रामचन्द्र अधिकारीले सदा बर्षझैं यस बर्ष पनि जेसीज सप्ताहका अवसरमा सामाजिक सेवा तथा सामाजिक सचेतना जगाउने किसिमका कार्यक्रमहरु सञ्चालन गरिएको जानकारी दिए ।

सप्ताहको औपचारिक उदघाटन मसिंर १९ गते दमक जेसीज सामुदायिक भवनस्थल दमक ८ मा कोशी प्रदेश सभा सदस्य होमबहादुर थापाले गरेका थिए ।
सप्ताह अन्तर्गत मैत्रीपूर्ण फुटसल प्रतियोगिता सञ्चालन गरिएको थियो भने बालबालिकाहरुका लागि स्वास्थ्य सम्बन्धिको सचेतना कार्यक्रम गरिएको थियो । त्यस्तै दमक बहुमुखी क्याम्पसको सभाहलमा युवाहरुको नेतृत्व र व्यक्तित्व बिकास सम्बन्धिको तालिम सञ्चालन गरिएको महासचिव सहदेव भट्टराईले जानकारी दिए ।
त्यसैगरी सरस्वती माविमा रहेको अटिजम केन्द्रका बालबालिकालाई अटिजम सम्बन्धिको सचेतनासँगै शैक्षिक सामग्री वितरण गरिएको जेसीजले जनाएको छ । जेसीजले दमक बसपार्क क्षेत्रमा सडक दुर्घटना न्यूनिकरण सम्बन्धि सचेतना सञ्चालन गरेको थियो ।

कार्यक्रममा दमक जेसीजका पूर्व अध्यक्षहरु पदम कोइराला, नरेन्द्र बराल, सुयोग खरेल, गोविन्दराज कट्टेल , पुष्प धिरेन्द्र स्मृति प्रतिष्ठानका अध्यक्ष तिर्थराज बस्नेत, राजनीतिक दलका नेतृत्वहरु लगायतको आतिथ्य रहेको थियो ।
१०९ जनाको दुर्घटना बीमा
यसैबीच दमक जेसीजका सदस्यहरुलाई संस्थाका महासचिव सहदेव भट्टराईको पहलमा सामुहिक दुर्घटना बीमा गरिएको छ ।
प्रोटेक्टीभ माइक्रो इन्स्योरेन्स कम्पनीसँग गरिएको सम्झौता बमोजिम सामुहिक दुर्घटना बीमा गरिएका बिमित सदस्यहरुलाई सोही कार्यक्रममा बीमा कार्ड पनि हस्तान्तरण गरिएको थियो ।
बिमितहरुलाई सो कार्यक्रम अन्तर्गत बीमाको नियमानुसार उपचार खर्च, स्थायी पूर्ण अपाङगता, अस्थायी अपाङगता र आकस्मिक मृत्यु लाभ शीर्षकमा ३ लाख रुपैयाँ सम्मको सुविधा प्रदान गरिनेछ । जेसीज सदस्यहरु १०९ जनाकै सो किसिमको बीमा गरिएको र तत्काल ९९ जनाका लागि बीमा कार्ड जारी भएको बताइएको छ ।