दमक/ जनकपुरमा आयोजित २ दिने राष्ट्रिय विद्यार्थी नवप्रवर्तन सम्मेलनमा दमकको झापा मोडल अंग्रेजी माविका बिद्यार्थीहरुको समुहले उत्कृष्ट विक्रेता सम्मान ( टप सेलर अवार्ड) जित्न सफल भएका छन् ।
सो शिखर सम्मेलनमा उनीहरुले तेस्रो पुरस्कार (ट्रेलब्लेजर अवार्ड) पनि सुरक्षित गरेका छन् ।
विद्यार्थीहरूले काठबाट बनाइएका हस्तकलाका सामग्रीहरु, जुत्ता, गहना, अमला क्यान्डी, र ह्यान्ड–पेन्टेड बुकमार्कहरू बनाएर सो सम्मेलनमा भाग लिएका थिए । पाँच घण्टा चलेको विक्री समय (हाट बजार)मा उनीहरुले ६० हजार रुपैयाँ बराबरको कारोबार गर्न सफल भई उत्कृष्ट अवार्ड हात पार्न सफल भएका बिद्यालयले जनाएको छ ।
बिद्यालयले प्राप्त गरेको सो अवार्ड ग्रहण गर्दै प्रिन्सिपल सागर श्रेष्ठले बिद्यार्थीहरुको लगनशीलता, कडा मेहनत र सक्रियताका कारण यो अवार्ड हात परेको बताउँदै कृतज्ञता प्रकट गरेका छन् ।
झापा मोडल अंग्रेजी माविले बिद्यार्थीहरुलाई औपचारिक शिक्षासँगै व्यवहारिक एवं जिवनोपयोगी शिक्षा प्रदान गर्ने उद्धेश्यले यस खाले क्रियाकलापहरुको अभ्यास गराउँदै आएको छ ।