दमक / नीजि तथा आवासीय विद्यालयहरुको संगठन (प्याव्सन ) दमक नगरको तेस्रो नगर अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ ।
शनिवार सम्पन्न प्याव्सन दमकको तेस्रो अधिवेशनले नविन योगीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।
योगी यसअघि सो संगठनको नगर कोषाध्यक्ष हुँदै दुई कार्यकाल सम्म सचिव पदको जिम्मेवारी सम्हालिसकेका युवा शैक्षिक व्यक्तित्व हुन् । दमक ५ स्थित सर्वोदय इङलिस बोर्डिङ स्कूलको प्रिन्सिपलका रुपमा जिम्मेवारी सम्हालिरहेका योगी निर्विरोध अध्यक्ष बनेका हुन् ।
समितिको उपाध्यक्षमा मित्र खत्री, सचिवमा लक्ष्मी नेपाल, सहसचिवमा विनोद बुढाथोकी,कोषाध्यक्षमा एलिजा सिटौला, र सहकोषाध्यक्ष यमूना बुढाथोकी चुनिएका प्रमुख निर्वाचन आयुक्त एलडी राईले जानकारी दिए ।
यस्तै प्याव्सनको नगर सदस्यहरुमा दिपेन्द्र पौडेल ,रेनुका खनाल ,प्रतिमा कोइराला ,सागर सुब्बा ,माधब भट्टराई लगायत चयन भएका जनाइएको छ ।
प्याव्सनका केन्द्रिय उपाध्यक्ष नारायण घिमिरेको प्रमुख आतिथ्य र दमक नगर अध्यक्ष जनार्दन मैनालीको अध्यक्षतामा सम्पन्न अधिवेशनको उदघाटन कार्यक्रममा घिमिरेले निजी विद्यालयमाथि सरकारको दृष्टिकोण सकारात्मक नरहेको परिप्रेक्ष्यमा संगठनले रचनात्मक भुमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।