दमक/ लिम्बु जातीको जातीय संस्था किराँत याक्थुङ चुम्लुङ दमक नगर समितिको तेस्रो अधिवेशन तयारी पुरा भएको छ । सबै वडामा चुम्लुङको वडा अधिवेशन सम्पन्न भई प्रतिनिधिहरु चयन भएसँगै अधिवेशनको तयारी पुरा भएको हो ।
दमक ७ स्थित किराँत रायाली सेवा संघको सभाकक्षमा हुने सो अधिवेशनको उद्घाटन चुम्लुङका केन्द्रिय अध्यक्ष प्रेम एक्तेन लिम्बुले गर्ने चुम्लुङ दमक नगर नेतृत्वले बिहिबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो ।
पत्रकार सम्मेलनमा चुम्लुङका नगर अध्यक्ष देवेन्द्र चेम्जोङले दमकका वडामा अधिवेशन सम्पन्न भई नयाँ नेतृत्व चयन भइसकेकाले अब नगर अधिवेशनमा केन्द्रित भएको उल्लेख गरे ।
उनका अनुसार अधिवेशनको उदघाटन कार्यक्रममा चुम्लुङलाई विशेष योगदान पुरयाउने र लिम्बु समुदायका अग्रज ज्येष्ठहरुलाई सम्मान समेत गरिनेछ । सोहि अवसरमा लिम्बू समुदायबाट कक्षा ११ र १२ उत्तीर्ण गर्ने लिम्बू विद्यार्थीहरुलाई समेत पुरस्कृत गरिने कार्यक्रम तय गरिएको अध्यक्ष चेम्जोङले बताए ।
अध्यक्ष चेम्जोङका अनुसार नगर अधिवेशनमा करिब ७० जना प्रतिनिधिहरुले प्रत्यक्ष सहभागिता जनाउने छन् । अधिवेशनले आगामी तीन बर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्नेछ । चुम्लुङका जिल्ला सल्लाहकार समेत रहेका पत्रकार विष्णु आङदेम्बेले लिम्बु जातिको हक अधिकार स्थापित गर्न र संस्कार संस्कृति संरक्षणमा समेत महत्वपूर्ण योगदान पुरयाउँदै आएको उल्लेख गरे । उनले अधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास जारी रहेको र आकांक्षीहरुबीच सहमति जुटन नसकेको अवस्थामा मतदानको विकल्प रोजिने उल्लेख गरे ।