दमक/  पूर्वको धार्मिक पर्यटकीयस्थल सताक्षीधाम परिसरमा रहेको गोलक गोवद्र्धन गौशालामा रहेका गाई गोरुका लागि आहार वितरण तथा धाम परिसरमा सरसफाई कार्यक्रम सम्पन्न भएको छ ।
सामाजिक सेवाका क्षेत्रमा क्रियाशील पहिलो पाइला नेपाल नामक सामाजिक संस्थाको दमक शाखाले आज पूर्णिमाको दिन पारेर यस खालको धार्मिक क्षेत्रमा कार्यक्रम गरेको हो ।

शिवसताक्षी नगरपालिकाका प्रमुख मेगाहाङ थोप्रा (रोशन)को प्रमुख आतिथ्य र पहिलो पाइला नेपाल दमक शाखाका अध्यक्ष राजु निरौलाको सभापतित्वमा गौशाला परिसरमा आयोजित कार्यक्रममा दमकस्थित फुयाँल होटलका सञ्चालक मेघनाथ फुयाँलले आफ्ना पिता काशिनाथ फुयाँलको स्मृतिमा , बस्नेत सप्लायर्स र युवा व्यवसायी तुल्सीराम तिम्सिनाद्धारा प्रदान गरिएको पाँच बोरा पशु आहार (दाना) र केही खाद्यन्न बस्तुहरु हस्तान्तरण गरिएको थियो ।
नगर प्रमुख थोप्रा, आयोजक संस्थाका अध्यक्ष निरौला, सल्लाहकार एवं दमक उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजु खड्का, लेखा सदस्य पदम राउत लगायतले सो सामग्री गौशालाका संरक्षक एवं प्रवक्ता समेत रहेका पण्डीत घनश्याम खनाललाई ति सामग्री हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा नगर प्रमुख थोप्राले पूर्वकै प्रसिद्ध यस धार्मिक क्षेत्र पर्यटक आकर्षणको केन्द्र रहेको चर्चा गर्दै यसको प्रवद्र्धन र बिकासका लागि स्थानीय सरकारले माथिल्लो तहका सरकारहरुसँग समेत समन्वय गरेर योजना अघि बढाएको बताए । उनले धार्मिक आस्थाको केन्द्र सताक्षीधामको ऐतिहासिक र पौराणिक सम्पदाहरुको संरक्षण गर्दै नेपालकै नमुना गौशालाका रुपमा बिकास गर्न स्थानीय सरकारले काम गरिरहेको बताए । सो अवसरमा पण्डीत खनालले युवा पुस्ताले पवित्र भुमीमा यस खाले सेवामुलक कार्यक्रम ल्याएकोमा प्रशंसा गरे ।
पहिलो पाइला नेपाल दमक शाखाका उपाध्यक्ष लवराज खड्काले स्वागत मन्तव्य राख्नै संस्थाले जहाँ दुख्छ त्यहाँ पहिलो पाइला पुग्छ भन्ने नारासहित सेवामुलक सामाजिक काम गर्दै आएको बताए । कार्यक्रममा संस्थाका केन्द्रिय सहकोषाध्यक्ष दिवस खतिवडा, केन्द्रिय सदस्य सुरेश बराल लगायत शाखा पदाधिकारी, सदस्यहरु लगायतको सहभागिता थियो । सहभागीहरुले सरसफाई सञ्चालन गर्नुका साथै आवश्यक सामग्रीहरु समेत गौशालालाई हस्तान्तरण गरे ।

Facebook Comments Box