दमक/ गत कार्तिक ६ गते दमक ३ स्थित मावा पूल नजिकै सार्वजनिक जग्गाको उपयोगका बिषयलाई लिएर भएको सामुहिक कुटपिटबाट हत्या गरिएका दमक ९ का ३७ वर्षीय देशु भनिने यामु निरौलाको हत्यामा संलग्न थप चार जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी कृष्णकुमार चन्दले अहिले सम्म सो घट्नासँग जोडिएका ७ जना पक्राउ परेका जानकारी दिए । यसअघि तीन जना पक्राउ परेको तथ्याङक सार्वजनिक भइसकेको थियो ।
सो घट्नामा राजनीतिक संरक्षण रहेको भनिएका बुद्धिमान थापा र डेबिड घले भने अझै पक्राउ पर्न सकेका छैनन ।
हत्याको आरोपमा पहिला सात र पछि दुई गरी जम्मा ९ जनामाथि जाहेरी परेपछि प्रहरीले पक्राउ पूर्जी जारी गरेको थियो । त्यस घटनामा संलग्नमध्ये तीनजनालाई प्रहरीले यसअघि नै पक्राउ गरेको थियो । संखुवासभा मादी नगरपालिका– १० घर भई दमक– ३ बस्ने गणेश दर्जी, उर्लाबारी– ६ का प्रकाश कार्की र उर्लाबारी– ७ का ध्रुव गौतम यसअघि पक्राउ परेका थिए । उनीहरूसँगै घटनास्थलमा देखिएका दुईवटा गाडी र दर्जीले प्रयोग गरेको मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको थियो ।
पक्राउ पूर्जी जारी भएका दमक ८का नमकुमार चेम्जोङ र दमक– ३ का राजु भनिने शेरबहादुर नेम्बाङलाई प्रहरीले मंगलबार नियन्त्रणमा लिएको बताइएको छ ।
त्यस्तै पछि जाहेरी परेर पक्राउ पूर्जी जारी भएका दमक ८ का पूर्व वडा सदस्य समेत रहेका दमक नगर खेलकुद विकास समितिका अध्यक्ष भीम चम्लागाई र गोपाल भण्डारी पनि पक्राउ परेका जनाइएको छ । पक्राउ परेका सबैलाई अदालतमा उपस्थित गराई अनुसन्धानका लागि म्याद थपिएको जानकारी दिए ।
चर्काे दबाबपछि प्रहरीले जाहेरी लिएपनि बुद्धिमान थापा र सुनसरी इटहरीका डेबिड घलेलाई पक्राउ नगर्नुका पछाडी राजनीतिक संरक्षणको आरोप लाग्दै आएको छ ।
ति मध्ये थापाका बुबा हरिश्चन्द्र थापाको १४ दिन अघि निधन भएपछि प्रहरीको फरार सूचीमा रहेका थापालाई प्रहरीले काजक्रिया सकिएपछि पक्राउ गर्ने अनुमान थियो । तर जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी चन्दले भने बुधबार साँझ निष्कर्ष न्यूजसँगको कुराकानीमा थापालाई पक्राउ गर्ने कोशिस भइरहेको जानकारी दिए ।
थापाका नेकपा एमालेका केन्द्रीय सदस्य समेत रहेका गोविन्द थापाका सहोदर दाजु हुन् । उनीहरु दाजुभाई स परिवार दमक ८ स्थित निवासमा स्वर्गीय बुबाको काजकिरियामा थिए । थापाका बुबाको १३ औं दिनको पुण्यतिथी मंगलबार परेको थियो ।
थापाको पक्राउ पूर्जी जारी भएपछि मात्र घटनाको ७ दिनपछि परिवारले निरौलाको अन्त्येष्टि गरेको थियो ।