दमक/ कोशी प्रदेश सरकारका मुख्य मन्त्री हिक्मतकुमार कार्कीले बदलिँदो परिवेशका कारण नेपालमा पनि अंग्रेजी भाषा अनिवार्य बनेको बताएका छन् । अंग्रेजी भाषाको प्रयोग अब हरेक नेपालीको जनजिवनसँग जोडिन थालेकाले अंग्रेजी जान्नु अनिवार्य जस्तै बनेको मुख्यमन्त्री कार्कीको भनाई छ ।
आज झापाको दमकमा नेपाल अंग्रेजी भाषा शिक्षक संघ (नेल्टा) को कोशी प्रदेश सम्मेलन तथा विचार गोष्ठी उद्घाटन गर्दै मुख्यमन्त्री कार्कीले हरेक सामुदायिक बिद्यालयहरुले पनि अबका बिद्यार्थीलाई न्यूनतम अंग्रेजी भाषामा बोलीचाली गर्न सक्ने क्षमताको बनाउन आवश्यक भएको बताए ।
मुख्यमन्त्री कार्कीले आफ्नो बिद्यालय तहको पढाई स्मरण गर्दै भने– म आफू अंग्रेजी भाषामा ठगिएका बिद्यार्थी हुँ । त्यो बेलाको समयनै त्यस्तै ४ कक्षामा बल्ल एबीसिडी सिक्न पाइन्थ्यो । अंग्रेजी माध्यमका स्कूल त गाउँमा छदैैं थिएनन् । जब मैंले माइ नेम इज हिक्मत कार्की भनेर भन्न जानें त्यो बेला पनि निक्कै गर्वानुभूति भएको थियो । अहिले समय बदलिएको छ । ४/५ बर्षको उमेरमा अंग्रेजी भाषामै बोलीचाली गर्ने अभ्यास शुरु भइसकेको छ ।
मुख्यमन्त्री कार्कीले अगाडी भने– विश्वको जुनसुकै ठाउँमा पनि बोलिने अंग्रेजी भाषा अब हामी नेपालीका लागि पनि अनिवार्य भइसक्यो । उनले अंग्रेजी भाषा शिक्षकहरु आफैंमा ज्ञान आर्जनको स्रोत भएको उल्लेख गर्दै यस किसिमका विचार गोष्ठी र सम्मेलनहरुमा हुने अन्तरक्रिया र बहसहरुले आगामी दिनमा अंग्रेजी भाषाको शिक्षण सिकाईमा थप मद्धत पुग्ने विश्वास व्यक्त गरे ।
बिद्यालय तहमा अंग्रेजी भाषाको अध्यापन गराउने शिक्षकहरुको छाता संगठनका रुपमा रहेको सो संघ (नेल्टा)ले भोली आइतबार सम्म सो गोष्ठी सञ्चालन गर्ने आयोजकले जनाएको छ ।
शैक्षिक क्षेत्रका राष्ट्रिय अन्तराष्ट्रिय बिषय विज्ञहरुबीच विश्व भाषाका रुपमा रहेको अंग्रेजी बिषयमा बहस र अन्तरक्रियासहितको यस किसिमको गोष्ठी झापामा पहिलो पटक आयोजना गरिएको हो ।
नेल्टा कोशी प्रदेश समितिका अध्यक्ष गुणराज नेपालको अध्यक्षतामा सञ्चालन भइरहेको सो गोष्ठीमा कोशी प्रदेशका अतिरिक्त विभिन्न क्षेत्रबाट करिब पाँच सय जनाले सहभागिता जनाएका छन् ।
सो कार्यक्रममा नेल्टाका पूर्व राष्ट्रिय अध्यक्ष एवं प्राध्यापक डा. गोविन्दराज भट्टराई, काठमाडौं विश्व बिद्यालय शिक्षा संकायका डिन प्रा.डा. बालचन्द्र लुइँटेल, नेल्टाका केन्द्रिय अध्यक्ष प्रा.डा लक्ष्मण ज्ञवाली, अमेरिकी दुतावासको क्षेत्रीय अंग्रेजी भाषा विभाग प्रमुख रोजर अफ कोहेन, युकेबाट फोनेक्स केनी, नेल्टाका पूर्व अध्यक्ष सहप्राध्यापक मोतिकला सुब्बा, काठमाडौं विश्व बिद्यालयका सहप्राध्यापक हेमन्तराज दाहाल लगायतको विशेष उपस्थिती रहेको छ ।
अन्तरक्रियात्मक सो गोष्ठीमा प्राथमिक तहदेखि विश्व बिद्यालय सम्मका अंग्रेजी भाषा अभ्यासकर्ताहरुको प्रस्तुतिकरण प्रमुख आकर्षकको रुपमा रहेको छ । यसले अध्ययन अनुसन्धानका बिषय प्रस्तुतिकरण मार्फत अंग्रेजी भाषाको क्षेत्रमा कार्यरत पेशाकर्मीहरुलाई समालोचनात्मक तथा सिर्जनात्मक सोच विकास गर्न सहयोग पुग्ने पनि आयोजकले विश्वास लिएको छ ।