दमक/ नेपाली काँग्रेसका युवा नेता भुपेन्द्रजंग शाहीको नेतृत्वमा आजदेखि युवा नेता, कार्यकर्ताहरुको समूहले आजदेखि मेची महाकाली संकल्प यात्रा सूरु गरेको छ । नेपाल तरुण दलका पुर्व महामन्त्री नेता शाहीको नेतृत्वमा शुरु भएको संकल्प यात्राको टोलीलाई दमकमा पार्टी नेता, कार्यकर्ताहरुले स्वागत गरेका छन् ।
शुक्रबार साँझ दमक आइपुगेको सो टोलीलाई पार्टीका प्रदेश समिति सदस्य भुमी राई, कांग्रेसका महासमिति सदस्यहरु सुरेश सुब्बा, रोहित साह, कांग्रेस झापा क्षेत्र नं ५ का सभापति ढुण्डीराज भण्डारी, प्रदेश सभा निर्वाचन क्षेत्र २ का सभापति रवि केसी, दमक नगर सभापति प्रकाश प्रसाइ, उपसभापति युवराज खनाल, पूर्व नगर सभापति रोशन विष्ट, लोकतन्त्रवादी आदिवासी जनजाती संघ झापाका उपसभापति सोम तामाङ, क्षेत्रीय अध्यक्ष जितु धिमाल, युवा नेता विष्णु कार्की लगायत दर्जन बढी नेता, कार्यकर्ताहरुले यात्रामा सहभागीहरुलाई स्वागत गर्दै शुभकामना दिएका थिए ।
सो अवसरमा पत्रकारहरुले राखेको जिज्ञासाको जवाफ दिँदै नेता शाहीले युवाहरुलाई कांग्रेस पार्टीको महत्व , आवश्यकता र भुमिकाका बिषयमा बोध गराउँदै मुलुकका समग्र समस्याहरुको समाधानमा पार्टी तथा सरकारको नेतृत्वलाई ध्यानाकर्षण गराउने उद्धेश्यले यो यात्रा शुरु गरिएको बताए । आम मानिसको आवाज मुखरित नभएका कारण देशव्यापी रुपमा निराशा छाएको भन्दै नेता शाहीले संकल्प यात्राले आम नागरिकमा आशाको सञ्चार गर्ने विश्वास लिइएको बताए ।
अभियानको औचित्यबारे थप प्रष्ट्याउँदै उनले भने ‘युवाहरुमा निराशा बढेको छ,’ देशमै केही गर्छु भन्नेहरुलाई पनि तलदेखि माथि सम्म सबै क्षेत्रमा भ्रष्टचारको कारण निराश हुने अवस्थालाई चिर्न पनि यो अभियानले सहयोग पुरयाउने हाम्रो विश्वास छ ।’

मुलुकमा निराशा र असहजताका बाबजुद मुलुक बनाउने जिम्मेवारी पनि आम नेपालीकै काँधमा रहेको भन्दै नेता शाहीले अब देशमै केही गर्न सकिन्छ भन्ने बिषय देशभरी बहसको रुपमा उठाउन संकल्प यात्रा गर्नु परेको उल्लेख गरे । यात्रामा सहभागी नेविसंघकी केन्द्रिय सदस्य प्रेमिका राना मगरले राष्ट्रिय राजनीतिका साथै समग्र निकायमा महिला प्रतिनिधित्व औपचारिकतामा सिमित राखिएको अवस्थामा आम युवा महिलाहरुलाई जागरुक बनाएर आफ्नो अधिकारका निम्ती अग्रसर हुन यसले जागरण पैदा गर्ने विश्वास लिइएको बताइन् ।
त्यस अघि आज शुक्रबार दिउँसो यात्रा शुभारम्भ कार्यक्रममा नेपाली काँग्रेस झापाका सभापति देउकुमार थेवेले युवाहरुले सूरु गरेको यात्रालाई शुभकामना दिंदै देशभर सकारात्मक आशाको सञ्चार गर्न सुझाव दिए ।
कार्यक्रममा धर्मेन्द्र नेम्वाङले युवाहरुको नेतृत्वले मात्रै देशमा देखिएको निराशा चिर्न सक्ने बताए । कार्यक्रमका बक्ताहरुले सहकारी ठगीमा संलग्नहरु सबैलाई कानूनी कारबाहीको भागिदार बनाउनु पर्ने बताउँदै सहकारीमा रकम जम्मा गर्ने पीडितहरुको रकम फिर्ताको सुनिश्चिता गराउनु पर्नेमा जोड दिए ।
संकल्प यात्राका बारेमा प्रकाश पार्दै पशुपति पोखरेलले युवाहरुलाई रोजगारीको सुनिश्चितता, भ्रष्टचार उन्मुलन र सुशासन, मँहगि र मुल्यबृद्धि नियन्त्रण र हरेक क्षेत्रमा युवाको अर्थपूर्ण प्रतिनिधित्वका लागि सकल्प यात्राले बहस चलाउने बताएका थिए ।
नेपाली काँग्रेस मेचीनगरका सभापति सुवेशकुमार पनेरुको सभापतित्वमा सम्पन्न भएको संकल्प यात्राको शुभारम्भ कार्यक्रममा काँग्रेस झापा १ का क्षेत्रीय सभापति इन्द्र बहादुर बुढाथोकीले स्वागत मन्तव्य राखेका थिए ।
मेचीनगरदेखि महेन्द्रनगरसम्मको युवा संकल्प यात्रा देशका विभिन्न स्थानमा अन्तरक्रिया गर्दै मंसिर ५ गते महेन्द्रनगरमा समापन हुने जनाइएको छ ।