दमक/ बर्षेनी निक्कै हर्षोल्लासपूर्वक मनाइने गरेको छठ पर्वको उल्लास यो बर्ष पनि शुरु भइसकेको छ । साना ठुला सवारी साधनहरुको बाक्लो आवतजावत र दर्शनार्थीहरुको चापका कारण बर्षेनी दमकस्थित रतुवा पूल (राजमार्ग) उत्तर र दक्षिण दुवै तर्फ ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण बन्ने गरेको छ ।

खोला किनारमा सजाइएको पूजास्थल घाटको मनोरम दृश्य अवलोकन गर्ने र पूजास्थल सम्म जान आउन हुने गरेको समस्यालाई मध्यनजर गर्दै यस बर्ष थप व्यवस्थित बनाउने प्रयास गरिएको छ ।
रतुवा किनार दमकको ७ नम्बर वडाको भुगोल मुख्य रुपमा छठ पूजाका लागि धेरैको रोजाइको ठाउँ बन्ने गरेको छ ।


यसलाई मध्यनजर गर्दै यस बर्ष वडाध्यक्ष भिम पौडेल छठ पर्व आउनु अघिदेखिनै खोला किनारमा आवागमन सहज बनाउन र पूजास्थललाई व्यवस्थित गर्ने गराउने कार्यमा लागेका छन् ।
बुधबार बिहान उज्यालो नहुँदै वडा नं ७ स्थित रतुवा खोला तटबन्धनस्थलमा दुई वटा जेसीबिको व्यवस्थापनसहित खटिएका वडाध्यक्ष पौडेलले अग्लो बाँध भएर खोला किनार (घाट) अर्थात पूजास्थल जाने दुई वटा सिँढी बनाइसकिएको बताए ।

पक्की सिँढी बनाइएका कारण अब घाटमा पूजा गर्न जाने आउने बृद्धबृद्धाहरुलाई सहज हुने अपेक्षा गरिएको उनले बताए । आफ्नो वडा क्षेत्रमा झण्डै ३० हजार मानिसहरु पूजा आजा र अवलोकनका लागि आउने पूर्वानुमानसहित आवश्यक व्यवस्थापन गरिएको वडाध्यक्ष पौडेलको भनाई छ ।
बाँधको बिच भागमा रहेको ठुलो खाल्डो पुर्ने र त्यहाँ आवश्यक व्यवस्थापन मिलाउने काम अन्तिम चरणमा पुगेको छ । पूजास्थलमा आवतजावतको समस्यालाई मध्यनजर गर्दै आजै बेलुकी ४ बजे अघि त्यहाँ माटो पूर्ने र सिँढीबाट आवतजावत गर्न सकिने गरिको व्यवस्थापन मिलाइने वडाध्यक्ष पौडेलले बताए ।

उनले ट्राफिक व्यवस्थापनका लागि ट्राफिक प्रहरी, इलाका प्रहरी कार्यालय दमक र नगर प्रहरीसँगको सहकार्य र समन्वय भइरहेको बताए । वडाध्यक्ष पौडेलले आपसी सदभाव र एकतालाई मजबुत बनाउने अवसरको रुपमा छठ पूजालाई उपयोग गर्न आम दमकबासीहरुसँग आग्रह पनि गरेका छन् ।
ट्राफिक प्रहरी कार्यालय दमकका इञ्चार्ज नारायण प्रसाद भट्टराई छठ पूजामा बर्षेनी हुने गरेको सवारी साधन र मानिसहरुको चापलाई मध्यनजर गर्दै आवश्यक व्यवस्थापनको योजना बनाइएको बताउँछन् । इञ्चार्ज भट्टराईका अनुसार भोली हुने विशेष छठ पूजामा ट्राफिक व्यवस्थापन चुस्त दुरुस्त बनाउने बिषयमा सरोकारवाला पक्षहरुसँग निरन्तर सहकार्य र समन्वय भइरहेको छ । सवारी साधन र मानिसहरुको हुन सक्ने चापको पूर्वानुमान गरेर अलग अलग तीन ठाउँमा पार्किङस्थल तोकिएको र बढी भिड हुने ठाउँहरुमा ट्राफिक प्रहरीको सक्रिय भुमिका अनिवार्य गरिएको इञ्चार्ज भट्टराईले बताए ।

चौधरी भन्छन– छठको आरधनाले आनन्द मिल्छ
दमकका रियल स्टेट व्यवसायी तथा सामाजिक व्यक्तित्व सत्यनारायण चौधरी बर्षेनी छठ पूजालाई विशेष महत्व दिने गरेको बताउँछन् । चौधरी भन्छन– छठी माताको पूजाआरधनाले जो कोहीलाई भित्री मनदेखि आनन्द मिल्ने गर्छ ।


छठ पूजाले जनमानसमा छुट्टैै उत्साह, आनन्द र धार्मिक निष्ठाको वातावरण बन्ने गर्छ । यसपालि छठ पर्व कसरी मनाउने, घर–आँगनको सरसफाइ कसरी गर्ने ? जस्ता विषयमा निक्कै अघिदेखि आफूहरुको ध्यान केन्द्रित भएको चौधरीले बताए ।
मुख्यतः सूर्यको पूजाआजा र उपासना गरी मनाइने यो पर्वको पहिलो दिन अस्ताउँदो र दोसो दिन उदाउँदो सूर्यलाई अर्घ दिइन्छ । वैज्ञानिक दृष्टिकोणले पनि सूर्यको पूजा उपासना स्वस्थ शरीरका लागि लाभदायक मानिन्छ ।

Facebook Comments Box