दमक/ झापाको दमक ९ का देशु भनिने यामु निरौलाको हत्याको चार दिन वितेपनि घट्नामा संलग्नताको आरोप लागेकाहरु पक्राउ पर्न सकेका छैनन् । घट्नासँग जोडिएका उर्लाबारी ६ का प्रकाश कार्की र उर्लाबारी ७ का ध्रुव गौतमबाहेक मुख्य आरोपीहरु पक्राउ पर्न नसकेका हुन् ।
निरौलामाथि कुटपिटमा प्रत्यक्ष संलग्न देखिएका राजु भनिने शेरबहादुर लिम्बु र गणेश दर्जीसहित सो प्रकरणमा किटानी जाहेरी परेका पाँच जना पक्राउ नपर्नुका पछाडी प्रहरी प्रशासनमा उपल्लो निकायबाट दबाब आएको हुन सक्ने मृतक परिवारका सदस्यहरुको आशंका छ ।
मृतक देशुकी पत्नी कृष्णमाया निरौलाले लिम्बु र दर्जीसहित दमक ८ का बुद्धिमान थापा र नमकुमार चेम्जोङ, उर्लाबारी ६ का प्रकाश कार्की, उर्लाबारी ७ का ध्रुव गौतम र इटहरी बस्ने भनिएका डेबिट घले विरुद्ध कर्तव्य ज्यान सम्बन्धि कसुरमा किटानी जाहेरी दिएकी थिइन् ।
चेम्जोङ बाहेकका ६ जना विरुद्ध घट्नाको दोश्रो दिन बुधबार इलाका प्रहरी कार्यालय दमकमा जाहेरी दर्ता भएको हो भने चेम्जोङका विरुद्ध बिहिबार मात्रै सोही कार्यालयमा पुरक किटानी जाहेरी दर्ता भएको हो ।
उर्लाबारीका कार्की नेतृत्वको समुहले निरौलालाई दमक ३ स्थित मावा पूल नजिकैको पुरानै जग्गा विवादस्थलमा बोलाएका थिए ।
त्यहाँ दमकका चेम्जोङ नेतृत्वको समुहसँगको विवादका क्रममा निरौलामाथि नेम्वाङ र दर्जीले कुटपिट गरेको दृश्य सीसि क्यामेरामा कैद भएको छ । कुटपिटको क्रममा भुइँबाट ढुंगा टिपेर एक जनाले निरौलाको टाउकोको पछाडी भागमा प्रहार गर्दा उनी भुइँमा ढलेको देखिन्छ । घट्नास्थल नजिकै रहेकी स्थानीय एक महिलाका अनुसार निरौला भुइँमा ढल्दा मुखबाट ह्वालह्वाल्ती रगत छादेका थिए ।
ति महिलाले भनिन् – उता (घटनास्थल)बाट पानी पानी ..भनेर कराए मैंले पानीको बोतल लिएर जाँदा त मुखबाट रगतै रगत निस्किराको थियो । हतार हतार अटोमा हालेर दुई जनाले हस्पिटल लगेका हुन् ।
प्रत्यक्षदर्शी अर्का एक पुरुषका अनुसार त्यहाँ मौखिक विवादको क्रम लगभग सकिएको थियो । उनले सुरक्षाका कारण आफ्नो परिचय गोप्य राख्ने शर्तमा भने– उर्लाबारीका कार्की र दमकका चेम्जोङबीचमा कुरा मिलिसकेको थियो एकैछिनमा निरौलाले के बोले मैंले सुनिन तर उनलाई दुई जनाले हिर्काउँदा भुक्लुकै ढले ।
मृतकका दाजु भन्छन– बरु भाईको हडडी मात्रै लान्छौं, हत्यारालाई छोड्दैनौं
मृतक देशुका दाजु नवराज निरौलाले आफ्नो भाईको हत्यामा संलग्न सबैलाई पक्राउ गरेर जेल हाल्नुपर्ने अडानबाट पछि नहट्ने बताएका छन् ।
पत्रकारहरुसँग कुरा गर्दै नवराजले घट्नाको यतिका दिन सम्म प्रहरी प्रशासनले हत्याराहरु पक्राउ नगरेबाट आफूहरु झनै पीडित बनेको बताए ।
नवराजले भने– साथीहरु मार्फत जाहेरीमा नाम हटाउन आग्रह गर्दै लोभ प्रलोभन नआएको पनि होइन तर म त्यस्ता कुरामा छदैैै छैन भाईको ज्यान त गइसक्यो बरु हडडी मात्रै उठाउँछौं हत्यारालाई छोड्दैनौं हत्यामा संलग्न जोसुकै भए पनि जेल हालिनु पर्छ ।
प्रहरीले पहुँचवालालाई शक्तिको आडमा पक्राउ नगरी उन्मुक्ति दिलाउन खोजेको मृतक परिवारको आरोप छ । मृतकका परिवार, आफन्त र शुभचिन्तकहरुले दिनहुँ इलाका प्रहरी कार्यालय अगाडी हत्यामा संलग्नहरुलाई पक्राउ गर्न दबाब दिँदै प्रदर्शन गरिआएका छन् । उनीहरुले शुक्रबार त्यहाँ टायर बालेर प्रदर्शन गर्ने सम्मको योजना बनाएपछि दमक नगरपालिकाले नगरस्थित राजनीतिक दलका नेतृत्व र मृतकका परिवारसँग छलफल गरेको थियो ।
छलफलका क्रममा पीडित परिवारलाई न्याय दिलाउन र अपराधमा संलग्न जोकोही भए पनि पक्राउ गरी कारवाहीको दायरामा ल्याउन माग गर्ने सामुहिक प्रतिबद्धता आएको जनाइएको छ ।
छलफलमा नगर प्रमुख रामकुमार थापा, उपप्रमुख रेगिना भट्टराई (प्रसाइँ)सहित वडाध्यक्षहरु , नगरस्थित स्थानीय राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरुसँगै मृतक परिवारका प्रतिनिधिहरु सहभागी थिए ।
सो छलफलपछि सामुहिक प्रतिबद्धता अनुरुप नगर प्रमुख थापाले इलाका प्रहरी कार्यालय दमक अगाडी प्रदर्शनको तयारीमा बसेको समुहमाझ शनिबार दिउँसो १ बजे सम्ममा कम्तीमा घट्नाका आरोपितहरुलाई पक्राउ गरी अनुसन्धानको दायरामा ल्याउन प्रहरी प्रशासनलाई समय दिइएको जानकारी गराएका थिए ।
प्रहरीले भने घट्नाको चार दिन विते पनि निरौला हत्याबारे आधिकारिक रुपमा यसबारे केही बोलेको छैन । प्राय सामान्य घट्नाहरु समेत दिनहुँ पत्रकारहरुलाई इमेल र वाट्सप ग्रुपमा पठाउने गरेको जिल्ला प्रहरी कार्यालय झापाले दमकका देशु निरौला हत्याको बिषयमा संक्षिप्त विवरण समेत उपलब्ध नगराएको हो ।