दमक/  झापाको दमक ९ का देशु भनिने यामु निरौलाको हत्या प्रकरण थप शंकास्पद बनेको छ ।
इलाका प्रहरी कार्यालय दमकले मृतक निरौलाकी पत्नी कृष्णमाया निरौलाले हत्या प्रकरणमा जोडिएका ६ जनाको नाममा किटानी जाहेरी दिन जाँदा दिनभर जाहेरी दर्ता गर्न आनाकानी गरेका कारण हत्याको घट्ना थप रहस्यमयी बन्न पुगेको हो ।

मंगलबार अपरान्ह करिब ४ बजेको आसपासमा उनको हत्या भएको अनुमान छ । घटनास्थल दमकको उत्तरी क्षेत्रमा रहेको वडा नं ३ स्थित मोरङको मिक्लाजुङ जोड्ने मावा पूलबाट करिब २ सय मिटर नजिकै दमकबाट मधुमल्ला जाने मुल सडक छेवैमा करिब ८/१० जनाको समुहकै बीच दुई जनाले निरौलालाई टाउकोको पछाडी भागमा चार/ पाँच पटक मुक्काले हानेको दृश्य घटनास्थल नजिकैको सीसी क्यामेरामा कैद भएको छ ।
अन्तिम पटक भुइँबाट ढुंगा टिपेर एक युवकले हान्दा निरौला भुइँमा ढलेको दृश्य देख्न सकिन्छ । उनीमाथि कुटपिट हुनु अघि त्यहाँँ दुई वटा गाडीमा केही मानिसहरु पुगेको र सेतो गाडीको पछाडीको भागबाट ओर्लिएका एक व्यक्तिसहित अर्का एक जना निरौलामाथि कुटपिटमा प्रत्यक्ष संलग्न देखिन्छन् ।
तर ति व्यक्ति को हुन ? भन्ने अपराध अनुसन्धानमा संलग्न सुरक्षा अधिकारीहरुले पहिचान गरे नगरेको बारे सार्वजनिक भएको छैन ।
गाडीबाट ओर्लिएर त्यहाँ जेसीबि लगाएर माटो खन्ने/पुर्ने काम गर्दै गरेको स्थल तर्फ ति मानिसहरु गएका र सोही क्षेत्रमा रहेका निरौलासँग संवाद भएको अनुमान छ तर उनीहरुबीच के संवाद भयो ? भन्ने खुलेको छैन ।
त्यहाँ दमक तर्फबाट गएका दुई वटा गाडी नजिक नजिकै रोकिएका र निरौलामाथि कुटपिट भइ अन्तिममा ढुंगाले टाउकोको पछाडी भागमा प्रहार गरेको देखिन्छ ।
गाडी र ति गाडीमा जाने आंशिक मानिसहरुको सामान्यतया पहिचान खुल्छ तर विस्तृत र आधिकारिक रुपमा भने प्रहरीले उनीहरुको पहिचान सार्वजनिक गरेको छैन ।
स्थानीय प्रत्यक्षदर्शी जानकारहरुका अनुसार सो ठाउँमा लामो समयदेखि जग्गा सम्बन्धि विवाद छ ।
मावा खोलाबाट नजिकैको सो क्षेत्रमा लगभग २० औं बर्ष पहिले एउटा क्रसर उद्योग खुलेको थियो । त्यहाँ धनीपूर्जा भएकोसँगै केही ऐलानी प्रति सार्वजनिक जग्गा पनि छ । त्यस क्षेत्रको विवादित भनिएको जग्गाको वास्तविक मालिक को हो ? भन्नेबारेमा थप अनुसन्धानको आवश्यकता पर्ने देखिन्छ ।

घट्नाका प्रत्यक्षदर्शीहरुका अनुसार सो जग्गामा उर्लाबारीका प्रकाश कार्कीसहितको समुहले सो दिन जेसीवि ल्याएर माटो सम्याउने, पुर्ने काम गर्दै गरेको सूचना पाएपछि  दुई वटा गाडीमा केही मानिसहरु त्यहाँ पुगेका थिए । उनीहरु त्यहाँ पुगेपछि शुरुमा केहीबेर त्यहाँ दमकका  र उर्लाबारीका कार्कीसहितको समुहका समर्थकबीच चर्काचर्की भएको र विवाद साम्य भए जस्तो अनुमान लगाएका थिए आसपासका मानिसहरुले । तर पछि राजु नेम्वाङ भनिने शेरबहादुर नेम्बाङ लिम्बु र सेतो गाडीमा आएका अर्का एक जनाले एकैसाथ निरौलामाथि कुटपिट गरेका थिए ।
कुटपिटबाट ढलेका उनलाई तत्काल घट्नास्थलमा रहेको समुहका उर्लाबारीका कार्कीसहित दुई जनाले त्यहाँ रहेको गाडीमा हालेर अस्पताल तर्फ लैजान खोजेका र गाडीमा लैजान गाडी धनी/चालकले अस्विकार गरेपछि बाटोमा गुडिरहेको अटो रोकेर आम्दा अस्पताल तर्फ ल्याएका थिए । अस्पतालमा ल्याउनसाथ चिकित्सकहरुले निरौलालाई मृत घोषणा गरेका थिए ।

६ जना विरुद्ध किटानी जाहेरी
यसैबीच इलाका प्रहरी कार्यालय दमकले स्थानीय सर्वसाधारणहरुको चर्को दबाबपछि बुधबार साँझ अबेर किटानी जाहेरी दर्ता गरेको छ । दर्ता नम्बर १०९ रहेको कृष्णमाया निरौलाले दिएको कर्तव्य ज्यान सम्बन्धि कसुर मुद्धामा दमक ३ का राजु भनिने शेरबहादुर नेम्वाङ लिम्बु, संखुवासभा स्थायी ठेगाना भएका दमक ३ बस्ने गणेश दर्जी, उर्लाबारी ६ का प्रकाश कार्की, उर्लाबारी ७ का ध्रुव गौतम, दमक ८ का बुद्धिमान थापा, इटहरी बस्ने भनिएका डेबिट घलेलाई विपक्षी बनाइएको छ । उनीहरु मध्ये दुई जना प्रहरी नियन्त्रणमा रहेको समाचार स्रोतहरुले जनाएको छ ।
उल्लेखित मध्ये राजु भनिने शेरबहादुरले प्रयोग गर्दै आएको मोवाइल घट्नाको दिन बेलुकी करिब साढे ५ बजेदेखि दमक ३ को बाघखोर एरियाबाट एकाएक गायब छन् । अन्यका बारेमा थाह हुन सकेको छैन ।
सूचना दिन प्रहरीको आनाकानी
जिल्ला प्रहरी कार्यालय झापाले दिनहुँ जसो साना तिना घट्नाका बारेमा पनि पत्रकारहरुसहितको वाटसप ग्रुपमा जानकारी पठाउने गर्छ । तर दमकमा भएको यो हत्याको घट्नाबारे अहिले सम्म जिल्ला प्रहरी कार्यालय झापाले कुनै विवरण ग्रुपमा पठाएको छैन । आपराधिक घट्नाबारे जानकारीका लागि आधिकारिक स्रोत मानिने प्रहरी कार्यालयले यो घट्नाबारे कुनै सूचना उपलब्ध नगराउनु र पीडित परिवार (मृतककी श्रीमति)ले जाहेरी दिन खोज्दा अस्विकार गर्नुले घट्नाबारे प्रहरी अनुसन्धानमा शंकास्पद भुमिका हुन सक्ने दमकबासीहरुले अनुमान गर्न थालेका छन् । राजनीतिक दलका स्थानीय नेतृत्वहरुले समेत निरौला हत्या प्रकरणको निष्पक्ष अनुसन्धान गरि दोषिलाई कारवाहीको दायरामा ल्याउन माग गरेका छन् । नेकपा माओवादी केन्द्र दमक नगर कमिटी र नेपाली कांग्रेसको नगर नेतृत्वले बुधबार अलग अलग प्रेस विज्ञप्ती निकालेर त्यस्तो माग गरेका हुन् ।

Facebook Comments Box