दमक/ पूर्व पश्चीम राजमार्ग अन्तर्गत झापाको कमल ४ केर्खामा तिब्र गतिमा रहेको यात्रुबहाक बसको ठक्करबाट बिद्युतीय साइकललाई ठक्कर दिँदा भएको दुर्घटनामा दुई जनाको ज्यान गएको छ ।
साँझ करिब साढे ५ बजे केर्खा चोकस्थित राजमार्गमा काँकडभिट्टाबाट काठमाडौतर्फ जादै गरेको प्र.१–०१–००१ ख ४३३१ नम्बरको यात्रुबाहक बसले ईलेक्ट्रोनिक साईकललाई ठक्कर दिँदा कमल गाउँपालिका वडा नम्बर–३ सानो केर्खाका ६० बर्षिय टेक बहादुर लिम्बु र उनकी नातिनी तत्काल नाम नखुलेकी अन्दाजी ९ बर्षकी बालिकाको समेत घटनास्थलमै मृत्यु भएको ट्राफिक प्रहरीले जनाएको छ ।
यो समाचार तयार पार्दा सम्म दुर्घटनास्थलमा स्थानीयबासीहरुले चालकको लापरवाहीको कारण दुर्घटना भएको भन्दै बिरोध प्रदर्शन गरेका छन् । आक्रोशित समुहले त्यहाँस्थित ट्राफिक प्रहरी बिटमा आगजनी गरेर आसपास क्षेत्रमा तोडफोड समेत गरेको छ । स्थितीलाई नियन्त्रणमा लिन त्यहाँ प्रहरीले अश्रुग्याँस प्रहार गरेको छ । यात्रुबहाक बस र बस चालक झापा शिवसताक्षी नगरपालिका वडा नम्बर–१ का ३२ बर्षिय बिशाल ठटाललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
स्थानीयहरुको अवरोधका कारण राजमार्गमा यातायात अवरुद्ध बनेको छ । जिल्ला प्रहरी कार्यालय झापाबाट डीएसपी कृष्ण कुमार चन्दको कमाण्डमा ७० जना , र सशस्त्र प्रहरी बल पाडाजुँगीबाट निरन खड्काको कमाण्डमा ७० जना सहित ठुलो संख्यामा सुरक्षाकर्मी घटनास्थलमा परिचालन गरिएको छ ।