दमक/ झापाको दमकमा आज मंगलबार अपरान्ह एक युवकको ढुगाले हिर्काएर हत्या भएको छ । दमक ३ स्थित मावा पूल नजिकै करिब ३ बजे दमक ९ का अन्दाजी ३५ बर्षिय देशु निरौलाको हत्या भएको हो ।
ढुंगाले लागेर ढलेका निरौलालाई आम्दा अस्पताल ल्याउनसाथ चिकित्सकहरुले मृत घोषणा गरेका थिए ।
सो घोषणासँगै निरौलाको उपचारमा संगै आएका एक युवकले मोवाइल फोन मार्फत अरुलाई जानकारी गराएका अस्पतालमा भेटिएका प्रत्यक्षदर्शीहरुले बताएका छन् । एक जना प्रत्यक्षदर्शीले भने–कसलाई फोन गरेको थियो त्यो हामीलाई थाह भएन तर फोन चाहिं गरेको हो ।
सो लगत्तै तत्कालै प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो ।
विभिन्न स्रोतहरुका अनुसार निरौला मंगलबार मध्य दिउँसो सम्म दमक चोकतिरनै थिए । उनलाई चिनजानकै साथीहरुले दिउँसो त्यहाँ रहेको क्रसर उद्योग परिसरतर्फ बोलाएका थिए । उनी त्यहाँ पुगेपछि के कस्ता कृयाकलाप भए ? विवादको बिषय के थियो ? जस्ता बिषयमा तत्काल खुल्न सकेको छैन ।
निरौलाको हत्या भने साथीहरुकै समुहको कुटपिटपछि कञ्चटमा ढुंगा प्रहारबाट भएको प्रारम्भिक चरणको अनुसन्धानबाट खुलेको छ । प्रहरीले घट्नाका केही शंकास्पद युवाहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ । प्रहरीले उनीहरुको नाम सार्वजनिक गरेको छैन । घट्नामा संलग्नहरुको खोजी भइरहेको र थप अनुसन्धानपछि औपचारिक रुपमा प्रहरीले यसबारेमा सार्वजनिक गर्ने जनाएको छ ।