दमक/ इलाम र मोरङको चुरे क्षेत्रलाई जोड्ने चुलाचुली गाउँपालिका वडा नं ६ साक्फारा क्षेत्रमा पहिलो पटक सडक कालोपत्रे भएको छ ।
चुलाचुली गाउँपालिकाका ६ वटै वडालाई जोड्ने चुलाचुली मार्ग अन्तर्गतको साविक साक्फारा गाविसमा पर्ने नुनसरी तोरीबारी क्षेत्रमा त्यसक्षेत्रको पर्यटकीयस्थल कुइँनेटार अर्थात खुँडी जाने सडकको १ किलोमिटर भन्दा बढी खण्डमा अहिले धमामध कालोपत्रे भइरहेको हो ।
गाउँपालिकाको स्रोतबाट एक करोड ८७ लाखको लागतमा एक किलोमिटर ३ सय मिटर सडक कालोपत्रे योजनाको काम सञ्चालन भइरहेको हो ।
सडक कालोपत्रे योजनाको गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङले स्थलगत निरिक्षणका क्रममा कालोपत्रे कामलाई तोकिएको मापदण्ड अनुसार गर्न गराउन सम्बन्धित निर्माण पक्ष र प्राविधिक कर्मचारीहरुलाई निर्देशन गरेका छन् ।


अध्यक्ष केरुङले सडक कालोपत्रे कामको निरिक्षणको क्रममा स्थानीयबासीलाई समेत आवश्यक निगरानी गर्न आग्रह गरे ।
पहिलो पटक घर अगाडीको बाटो सडक कालोपत्रे हुन थालेपछि निक्कै खुशी लागेको तोरीबारीका पुराना बासिन्दा ६४ बर्षिय लोकबहादुर निरौलाले सुनाए । लगभग २५ सालदेखि यो क्षेत्रमा स्थायी बसोबास गर्दै आएका निरौला परिवार जस्तै खुशी छन सोही ठाउँका युवा तुलसी प्रसाद घिमिरे ।
घिमिरेले सडक कालोपत्रेको योजनाले गाउँमा नै खुशी दिएको बताउँदै भौगोलिक विकटताका कारण सो क्षेत्रका बासिन्दाले निक्कै समस्या ब्यहोर्नु परिरहेको गुनासो गरे । उनले साक्फाराबाट आफ्नै पालिकाको कार्यालय पुग्न झापा र मोरङ काटेर मात्रै जानुपर्ने बाध्यता रहेको बताए ।


गाउँपालिका अध्यक्ष केरुङले चुलाचुलीमा एकपछि अर्को गर्दै सडक कालोपत्रेका योजनाहरु कार्यान्वयनमा अघि बढेको बताए । आफ्नो कार्यकालको आधा कार्यकालमा सडक तथा पूर्वाधार बिकासको क्षेत्रमा सन्तोषजनक प्रगति भएको उनको ठम्याई छ ।

उनका अनुसार वडा नं ३ र ४ कार्यालय जोड्ने सडक यसअघि कालोपत्रे भइसकेको छ ।
वडा नं ३ मा आव २०७९/८० मा चुलाचुली मार्गको एक किलोमिटर सात सय मिटर र वडा ४ मा सोही मार्गको पटकपटक गरी आव २०७९÷८० सम्ममा तीन किलोमिटर ४ सय मिटर सडक कालोपत्र भइसकेको छ ।

‘वडा कार्यालय पुग्ने वडाका सडकलाई कालोपत्र गर्न कतिपय सङ्घीय र प्रदेश सरकारसँगको साझेदारीमा कालोपत्र गरिएका छन् भने कतिपय सडक गाउँपालिकाको आन्तरिक स्रोतबाट कालोपत्रे काम अघि बढाइएको हो ।

सबै वडामा कालोपत्र सडक पुरयाउने चुलाचुलीबासीमाझ गरेको प्रतिबद्धता अनुरुप पहिलो चरणमा लक्ष्य राखिएको सडक कालोपत्रेको योजना पुरा गरिएको गाउँपालिका अध्यक्ष केरुङको भनाई छ ।
चुलाचुली गाउँपालिका भित्र हालसम्म विभिन्न सडकको १६ किलोमिटर खण्ड सडक कालोपत्रे भएको हो । गत आर्थिक बर्षमा मात्रै पाँच किलोमिटर भन्दा बढी सडक कालोपत्र गरिएको छ ।

 

Facebook Comments Box