दमक/ समाजवादी पार्टी प्रदेश नं १ ले यहि मसिंर १४ गते हुने उपनिर्वाचनसहित पार्टी समायोजनका विविध बिषयहरुमा निर्णय लिएको छ ।

पार्टी निकट प्रेस नेपाल १ नम्बर प्रदेश नेतृत्वले आज झापाको दमकमा पत्रकार सम्मेलन गर्दै प्रदेश १ को पूर्ण बैठकले उम्मेद्वारहरुको तय गर्नुका साथै निर्वाचन परिचालन मूल समिति, आर्थिक समिति, प्रचार प्रसार समिति लगायतका बिषयमा जिम्मेवारी तोकिएको जनाएको हो ।
पत्रकार सम्मेलनमा पार्टीका प्रदेश समिति अध्यक्ष प्रविण चाम्लिङले उपनिर्वाचनका लागि आवश्यक विभिन्न पदमा ७ जना उम्मेद्वारको टुंगो लगाइएको जानकारी गराउनु भयो ।
उहाँका अनुसार उपनिर्वाचनमा धरान उपमहानगरपालिकाको मेयर पदमा गजेन्द्र इस्वो लिम्बु, फाल्गुनन्द गाउँपालिकाको अध्यक्ष पदमा विमला आङदेम्बे नेम्वाङ, मकालु गाउँपालिकाको अध्यक्ष पदमा नोर्बु शेर्पा, फिदिम नगरपालिका वडा नं १ को वडाध्यक्षमा गौरव लामा र हिलिहाङ गाउँपालिका वडा नं ७ को वडाध्यक्षमा भवानी योङयालाई उम्मेद्वार बनाउने निर्णय भएको जानकारी गराउनु भयो ।
त्यसैगरी बैठकले पार्टीका प्रदेश १ का मुख्य सचिव प्रभुराम श्रेष्ठको संयोजकत्वमा ९९ सदस्यीय निर्वाचन परिचालन मूल समिति, विनोद नेम्वाङको संयोजकत्वमा ११ सदस्यीय आर्थिक व्यवस्थापन उपसमिति र कमन देवानको संयोजकत्वमा ७ सदस्यीय प्रचार प्रसार समिति गठन गरेको पनि पत्रकार सम्मेलनमा जनाइयो ।
त्यस्तै बैठकले समाजवादी पार्टी समायोजन हुन बाँकी रहेका प्रदेश नम्बर १ अन्तर्गतका सबै जिल्ला, नगरपालिका, गाउँपालिकाहरुमा पार्टी समायोजन तथा जनवर्गीय संगठनहरुको समायोजनका लागि दिपक याक्खाको संयोजकत्वमा १० सदस्यीय कार्यदल गठन गरेको पनि सार्वजनिक गरिएको छ ।