दमक/ झापाको शिवसताक्षी ६ स्थित शिवगञ्ज बजारमा विक्रीका लागि पुरयाइएको रमपम चाउचाउका प्याकेट भित्र किरा मरेको अवस्थामा भेटिएको छ ।

शिबगन्ज बजारस्थित बालाजि किराना पसलबाट आफूले केहि दिन अघि खरिद गरेका २ वटा रमपम तयारी चाउचाउका प्याकेट भित्र मरेर सुकेको किरा फेला परेको स्थानीय चन्द्रमणी पौडेलले जानकारी दिनु भयो । कम्पनीले गरेको प्याकेजिङको बाहिरी भागमा चाउचाउको उपभोग गर्न योग्य मिति रहेको भएपनि भित्र अखाद्य बस्तु ( मरेको किरा) भेटिएको पौडेलले बताउनु भयो ।

आफूले करीब साता अघि एकैपटक किनेका रमपम चाउचाउका दुई प्याकेटमा दुवै प्याकेट भित्र त्यस्तो अखाद्य बस्तु भेटिएको र त्यसबारेमा चाउचाउ खरिद गरेको पसलका प्रोप्राइटर मार्फत वितरकका प्रतिनिधि, तथा उद्योगी व्यवसायी नेता बताउने एक समुहले त्यस किसिमको उत्पादन तथा वितरण गरेर मानव स्वास्थ्यमा गम्भिर खेलबाँड गर्नेमाथि अनुसन्धान र कारवाहीको प्रकृया अघि बढाउनुको सट्टा दुई÷चार कार्टुन अरु चाउचाउ लैजानु भन्ने गैह्रजिम्मेवारी पूर्ण जवाफ दिएको उहाँले बताउनु भयो ।

मैंले २/४ कार्टुन चाउचाउ फ्रिमा लिएर आम उपभोक्ताको स्वास्थ्यमा खेलबाँड गर्न सहयोग गर्नुहुदैन भन्ने लागेर यो बिषय बाहिर ल्याएको हुँ , अहिले सम्म कम्पनीले चासो लिएला, बजारबाट यस्ता चाउचाउ फिर्ता लैजाला भन्ने आशा गरेको थिएँ तर उपभोक्तामाथि गम्भिर खेलबाँड गर्दै उल्टै हेप्ने काम भयो – पौडेलले गुनासो गर्नुभयो ।
स्थानीय तहलाई आफ्नो मातहतका बजार अनुगमन गर्ने र उपभोग्य बस्तुहरुको गुणस्तर नाप जाँच गर्ने, स्वास्थ्यका लागि हानिकारक बस्तुहरु भेटिए सम्बन्धित उत्पादक कम्पनीमाथि कारवाही लागि सिफारिस गर्न सक्ने सम्मको अधिकार छ ।
शिवसताक्षी ६ का वडाध्यक्ष मनोज खुलालले बजारमा यो बिषय तिहारताका नै चर्चामा आएको तर अहिले सम्म वडा कार्यालय तथा नगरपालिकाको बजार अनुगमन समितिमा कारवाहीका लागि कुनै निवेदन नपरेका बताउनु भयो ।
स्थानीय उद्योग वाणिज्य संघका अध्यक्ष भोला मैनालीले स्थानीय एक व्यवसायीको किराना पसलमा रहेको चाउचाउको प्याकेट भित्र किरा भेटिएको बिषयमा सम्बन्धित चाउचाउको उत्पादक कम्पनीका पूर्वाञ्चलस्थित बजार हेर्ने प्रमुख सहित केहि व्यक्तिहरु छैठ पूजाको अघिल्लो दिन शिवगञ्ज बजारमा आएपछि अनौपचारिक रुपमै छलफल गरी चाउचाउ खरिदकर्ता स्थानीय चन्द्रमणी पौडेलसंग माफी मागेको र उद्योग वाणिज्य संघले सम्बन्धित प्रतिनिधिलाई त्यस बखत बजारमा रहेका चाउचाउ फिर्ता लैजान र आईन्दा त्यस किसिमको त्रुटी नगर्न चेतावनीसहित पठाइएको जानकारी गराउनु भयो ।

Facebook Comments Box